काठमाडौँ- अर्थमन्त्री डा प्रकाशशरण महतले बजेट निर्माणका क्रममा आफ्नो इमान्दारितामा एक रौँ पनि नहल्लिएको बताएका छन्। मंगलबार प्रतिनिधिसभामा करका दर हेरफेरबारे प्रष्टीकरण दिँदै उनले यस्तो बताएका छन्।
तर निहीत स्वार्थका पछि लागेकाहरुले अनावश्यक हल्ला फिँजाएको उनको आरोप छ। ‘इमान्दारितामा एक इन्च पनि, एक रौँ पनि कहीँ कतै हल्लिएको छैन,’ उनले भने, ‘निहित स्वार्थ भएकाहरू पछि लागेका छन्। कुरा यही हो। यो भन्दा अर्को कुनै कुरै छैन।’
बिचौलियालाई आफूले छेउछाउमा पनि आउन नदिएको उनको भनाइ छ। अनुभवी दक्ष इमान्दार भएको रूपमा परिचित भएकैले रामकृष्ण श्रेष्ठलाई करका दर र हार्मोनाइज्ड कोड इन्ट्रीका लागि बोलाइएको भनाइ छ।
‘सम्बन्धित र आधिकारिक रूपमा निर्णय भएको करका दर संशोधनलगायतका काम गर्दै आउनु भएको हो। मभन्दा अघीका व्यक्तिले पनि उहाँलाई नियुक्ति गर्दै आएको यसअघिका अर्थमन्त्रीहरूलाई पनि थाहा छ,’ प्रतिनिधि सभा बैठकमा उनले भने।
कसैले नियोजित रूपमा गरिदिने व्यक्ति चै सत्य हुने तर कसम खाएर जिम्मेवारी लिएर आएको सबै चाहिँ असत्य हुन नसक्ने उनको भनाइ छ। ‘अधिकारप्राप्त व्यक्तिहरूको निर्णयपछि उहाँ (अधिकारी)हरूकै उपस्थितिमा उहाँ (रामकृष्ण श्रेष्ठ)ले काम गर्नु भएको हो। काम गर्ने व्यक्तिलाई इन्ट्री गर्ने जिम्मेवारी दिइएको छ,’ उनले भने।


