काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगीसहित २ जना र बज्रगुरु कन्स्ट्रक्सन कम्पनी प्रालिविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
गाउँपालिकाको वडा नम्बर १ स्थित पत्रिङ्घाघाट र जेठानगाउँको उत्तरबीच राप्ती नदी किनारमा कालाकाटे–गढवा सडक निर्माणका लागि नदीजन्य पदार्थ उत्खननमा सम्झौता विपरीत बढी संकलन तथा उत्खनन् गरी बिक्री वितरण गरी भ्रष्टाचार गरेको कसुरमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत योगी र बज्रगुरुका प्रबन्ध निर्देशक लक्ष्मणकुमार रानाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
बढी उत्खनन भएको परिमाणअनुसार राजस्व रकम गाउँपालिकाको विभाज्य कोषमा जम्मा गर्न गाउँ कार्यपालिकाले २०७७ मंसिर ३ गते निर्णय गरी योगीले तीन पटकसम्म कम्पनीलाई पत्राचार गरेका थिए। तर, उक्त रकम भुक्तानी नभएको अवस्थामा पनि ठेक्का सम्झौताका लागि राखिएको बैंक ग्यारेन्टी जमानत रु. ९५ लाख ९८ हजार नेपाल बंगलादेश बैंक, काठमाडौंमा यथावत् रहँदा प्रमुख प्रशासकीय अधिकृत योगीले स्वयम् पत्राचार गरी बैंक ग्यारेन्टी फुकुवा गरिदिएका थिए।
उनीहरूविरुद्ध ९५ लाख ९८ हजार रुपैयाँ बिगो मागदाबी, बिगो बराबर जरिवाना र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) (ग) र (घ) बमोजिम कारबाहीको माग गरिएको छ।


