काठमाडौँ: बुकबिल्डिङ विधिबाट प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्न लागेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको धागो व्यापार ११ प्रतिशत बढेको छ। रिलायन्सले एक वर्षमा १० अर्ब २३ करोड ९ लाख रुपैयाँ बराबरको धागो व्यापार गरेको छ। अघिल्लो वर्ष सन् २०२४ मा उद्योगले नौ अर्ब २० करोड सात लाख रुपैयाँको धागो व्यापार गरेको थियो।
एक वर्षको अधिमा रिलायन्सको धागो व्यापार एक अर्ब तीन करोड रुपैयाँ बढेको रेटिङका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ। सन् २०२३ मा रिलायन्सको धागो व्यापार १० अर्ब र २०२२ मा १० अर्ब १० करोड रुपैयाँ थियो। उद्योगले नौ अर्ब ४५ करोड ३७ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ।
उद्योगले धागो व्यापारमा नयाँ रेकर्ड कायम राखेको छ। एक वर्षमा उद्योगको धागो बिक्री बढेर ३५ हजार ३६९ टन पुगेको छ। गत वर्ष ३२ हजार ६६७ टन थियो। रिलायन्सको धागो बिक्री एक वर्षमा २७ सय टन बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ। धागोको औसत मूल्य प्राप्ति प्रति किलो २६५ बाट बढेर २७२ रुपैयाँ पुगेकाले उद्योगको आम्दानी बढेको हो।
यसबीचमा उद्योगको क्षमता उपयोग बढेको छ। युनिट ए को क्षमता उपयोग बढेर ७१ र युनिट बीको ६८ प्रतिशत पुगेको रिलायन्सले जनाएको छ। यो वर्ष उद्योगको नाफाका साथै मार्जिनमा सुधार आएको छ। यो वर्ष उद्योगको मार्जिन बढेर १४.९८ प्रतिशत पुगेको छ। सन् २०२४ मा यस्तो मार्जिन १०.६० प्रतिशत मात्र थियो।
रिलायन्सले स्थापना गरेको ९.२ मेगावाट क्षमताको क्याप्टिभ सोलार पावर प्लान्ट सञ्चालनमा आएपछि बिजुली खर्चमा गिरावट आएको छ। यसले उत्पादन लागत घटाउन सहयोग पुर्याएको छ। रिलायन्सले अक्टोबर २०२४ मा ४१ करोड रुपैयाँ सौर्य ऊर्जा प्लान्ट स्थापनाको लागि लगानी गरेको थियो।
आर्थिक वर्ष २०२५ मा कुल नगद संचय ९६ करोड ६ लाख रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०२४ मा ५० करोड रुपैयाँ मात्र थियो।
मागमा निरन्तर सुधार र राम्रो मूल्य प्राप्तिले नाफामा थप सुधार ल्याउने अपेक्षा गरिएको छ। उद्योगले भारतमा पलिएस्टर फाइबर निर्यातको लागि बीआईएस प्रमाणीकरण प्राप्त गरेको छ। भारत सरकारले भिस्कोस फाइबरको लागि पनि प्रमाणीकरण अनिवार्य गर्ने प्रक्रियामा रहेकोले कम्पनीलाई फाइदा हुने अपेक्षा गरिएको छ।
यी दुई उत्पादनहरूले रिलायन्सको कुल सञ्चालन आम्दानीको लगभग ७० प्रतिशत हिस्सा ओगटेका छन्। नियामक मापदण्डहरूको अनुपालनले बजार पहुँच र ग्राहकको विश्वास बढाउने सम्भावना छ। रिलायन्सले उत्पादन गर्दै आएको सिंथेटिक धागो छिमेकी भारत र टर्कीमा निर्यात हुँदै आएको छ। कूल आम्दानीको ८० प्रतिशत हिस्सा भारत र टर्की निर्यातबाट हुने गरेको छ।
कपडा उद्योग स्वाभाविक रूपमा चक्रीय प्रकृतिको छ। निर्यात बजारमा विश्वव्यापी आर्थिक दृष्टिकोण र माग आपूर्ति परिदृश्यमा कुनै पनि प्रतिकूल परिवर्तनले कम्पनीको सञ्चालनलाई प्रत्यक्ष असर गर्छ। विभिन्न भौगोलिक क्षेत्रहरूमा मन्दी प्रवृत्तिका कारण कपडाको विश्वव्यापी मागमा भइरहेको मन्दीले असर गर्न सक्छ।
रिलायन्स स्पिनिङ मिल्स सन् १९९४ मा स्थापित लिमिटेड कम्पनी हो। रिलायन्स नेपालको सबैभन्दा ठूलो स्पिनिङ मिल हो। उद्योगमा व्यवसायिक घरना गोल्याण र एमएस ग्रुपको लगानी रहेको छ। उद्योगले कपास, पलिएस्टर, भिस्कोस, एक्रिलिकर मिश्रित र पलिएस्टर टेक्सचर्ड यार्नको उत्पादन गर्दै आएको छ।
कम्पनीको सुनसरीको खनार र सुनसरीको दुहबीमा दुई उत्पादन एकाइहरू छन्। उद्योगको धागो उत्पादन क्षमता वार्षिक ५० हजार १६३ टन छ। कम्पनीले विगतमा आफ्नो क्षमता, उत्पादन पोर्टफोलियो बढाउन र उत्पादन प्रक्रियाहरूमा सुधार गर्न नियमित रूपमा पूँजीगत खर्च गरेको छ।
उद्योगले नयाँ बजार र उत्पादन प्रवेशमार्फत थप प्रतिस्पर्धी लाभ प्राप्त गर्ने अपेक्षा गरिएको छ। जसले गर्दा मागमा सुधारसँगै स्थानीय र विदेशी बजारमा बलियो पकड प्राप्त गर्न सक्षम हुने अपेक्षा गरिएको छ। डेडिकेटेड र ट्रंक लाइनको ७५ करोड रुपैयाँ बढी बक्यौता नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले उद्योगको लाइन काटेको छ।


