काठमाडौं। जीवन बिमा व्यवसाय गर्र्दै आएको नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड हिमालयन बैंकको सबैभन्दा ठूलो संस्थापक सेयरधनी बनेको छ। पाकिस्तानको हबिब बैंक लिमिटेडको नाममा रहेको हिमालय बैंकको सबै सेयर खरिद गरेपछि नेशनल लाइफ इन्स्योरेन्स सबैभन्दा ठूलो संस्थापक शेयरधनी बनेको हो।
नेशनल लाइफले हबिबको नाममा रहेको २ करोड ८० लाख १२ हजार ४४७ कित्ता शेयर ३ अर्ब ३३ करोड १ लाख १९ हजार रुपैयाँमा खरिद गरेको छ। हबिबले नेसनल नेसनल लाइफले हबिबका नाममा हिमालयन बैंकमा रहेको संस्थापक सेयर प्रतिकित्ता ११८.८८ रुपैयाँमा खरिद गरेको हो।
हाल हिमालयन बैंकको कुल २२ करोड ५८ लाख १६ हजार ६२७ कित्ता सेयर छ। त्यस नेसनल लाइफको १.२५ प्रतिशत अर्थात् २८ लाख २२ हजार ७०८ कित्ता सेयर थियो। हबिबको सेयर खरिदपछि नेसनल लाइफको अंश १४.१८ प्रतिशत अर्थात् तीन करोड आठ लाख ३५ हजार १५५ कित्ता पुगेको छ। यससँगै नेसनल लाइफ हिमालयन बैंको ठुलो शेयर धनी बनेको हो।
नेपाल राष्ट्र बैंकले असोजमा नै हिमालयन बैंकमा रहेको संस्थापक सेयर बेच्न हबिबलाई स्वीकृति दिएको थियो। नेसनल लाइफ इन्स्योरेन्सले सेयर खरिद गर्ने प्रस्ताव हिमालयन बैंकमा बुझाएको थियो। उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकार गरेको हो।
पाकिस्तानी हबिब बैंकका नाममा रहेको सेयर नेसनल लाइफले खरिद गर्न हिमालयनलाई पत्र पठाएको थियो। यो सहमतिका निम्ति हिमालयनले राष्ट्र बैंकमा प्रस्ताव पठाएको थियो।
हिमालयन बैंकले गएको जेठ ३० गते ३५ दिने सूचना जारी गरी हबिबका नाममा रहेको संस्थापक सेयर खरिद गर्न संस्थापक सेयरधनीबाट प्रस्ताव आह्वान गरेको थियो। सूचनामा बैंकको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११२ रुपैयाँ ८० पैसा तोकिएको थियो। तर, बैंकको सेयरधनी रहेको नेसनल लाइफले प्रतिकित्ता ६ रुपैयाँ ८ पैसाभन्दा बढी रकममा खरिद गर्ने प्रस्ताव गरेको थियो।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)को प्रावधानअनुसार बैंक तथा वित्तीय संस्था सञ्चालनको पाँच वर्षसम्म संस्थापक सेयर बिक्री गर्न पाइँदैन। त्यसपछि पनि संस्थापक सेयर संस्थापक समूहमै रहने गरी बिक्री गर्नुपर्ने हुन्छ। संस्थापक समूहमा बिक्री नभएको अवस्थामा मात्र बाहिर बिक्री गर्न पाउने प्रावधान छ।
हबिब बैंकले आफ्नो स्वामित्वमा रहेको सेयर २०७६ सालमा नै बेच्ने प्रयास गरेको थियो। त्यसबेला बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन ग्रुप (सीडीसी) ले सेयर खरिद गर्ने पक्का भएको थियो। बैंकका सञ्चालकबाट विरोध भएपछि त्यति बेला सफल भएको थिएन। कर्मचारी सञ्चय कोषले संस्थापक सेयर किन्ने बताए पनि उसले पाएन।


