काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सागर डिष्टिलरी लिमिटेडको साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ। बिहिबार नेप्से र कम्पनीबीच प्रति सेयर अंकित तथा चुक्ता मूल्य १०० रुपैयाँ कायम रहेको कुल ७२ लाख ६० हजार कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो।
कम्पनीले सर्वसाधारणमा जारी गरेको १४ लाख ५२ हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५८ लाख ८ हजार कित्ता शेयर गरी कुल ७२ लाख ६० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।
पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०६ रुपैयाँ ५२ पैसादेखि ३१९ रुपैयाँ ५६ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ।
सोही रेञ्जका आधारमा आगामी आइतबारको प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित दोस्रो बजारमा कम्पनीको शेयर कारोबार हुनेछ। नेप्सेले कम्पनीलाई एसएजीएआर सिम्बल प्रदान गरेको छ।


