काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले ल्याएको मध्यमार्गी सहमतिपछि ठूला उद्योगहरुले धमाधम डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौता रकम भुक्तानी गर्न थालेका छन्।
बिहीबार सुनसरीमा सञ्चालित रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले धरौटीवापत पहिलो किस्ता बझाएको थियो।
यस्तै बारा—पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिज प्रालि विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम बिहीबार तिरेको छ नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
पहिलो किस्ता तिरेपछि कात्तिक ४ मा विच्छेद गरिएको त्रिवेणी सिन्थेटिकको विद्युत लाइन बिहीबार साँझ जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए।
त्रिवेणी सिन्थेटिकले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो।
त्रिवेणी सिन्थेटिकको ४ करोड ३९ लाख ८३ हजार रुपैयाँ बक्यौता रहेको छ। बक्यौतालाई २८ किस्तामा विभाजन गरीे त्रिवेणी सिन्थेटिकलले १५ लाख ७१ हजार रुपैयाँ पहिलो किस्ता बुझाएको हो।
यस्तै रिलायन्स स्पिनिङले पनि प्रिमियम महसुलको बक्यौता पहिलो किस्ता रकम बिहीबार नै तिरेको छ।
रिलायन्सले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो।
विद्युत प्राधिकरणका अनुसार रिलायन्सको ७५ करोड ३७ लाख रुपैयाँ बक्यौता रहेको छ। बक्यौतालाई २८ किस्तामा विभाजन गरी रिलायन्सले २ करोड ७७ लाख रुपैयाँ पहिलो किस्ता बुझाएको हो।
विद्युत प्राधिकरणले यही कात्तिक ४ गते रिलायन्स स्पिनिङ मिल्ससहित ६ र ८ गते थप १९ उद्योगको लाइन काटेको थियो।
डेडिकेटेड र ट्रंकलाइन बक्यौता रकमलाई २८ किस्तामा विभाजन गरी उद्योगहरुले तत्काल पहिलो किस्ता बुझाउने र त्यसलाई धरौटीका रुपमा स्वीकार गरी पुनरावलोकन प्रक्रिया अगाडि बढाउने मध्यमार्गी प्रस्तावमा उद्योगी सहमत भएका थिए।
सोही सहमतिका आधारमा उद्योगीले धमाधम धरौटीका रुपमा पहिलो किस्ता बक्यौता रकम भुक्तानी गरेका हुन्। यसअघि पञ्चकन्या स्टिललगायत भैरहवाका पाँच उद्योगले पहिलो किस्ता बक्यौता रकम बुझाइसकेका छन्।


