ललितपुर: प्रिमियर इन्टरनेसनल आइबी कन्टिन्युम विद्यालयले नेपालको पहिलो विद्यालयस्तरीय टेड एक्स कार्यक्रम आयोजना गरेको छ । ‘महानता यहीँबाट सुरु हुन्छ’ भन्ने विषयवस्तुमा आधारित उक्त कार्यक्रममा युवा सोच, सिर्जनशीलता र विश्व नागरिकताको भावना एकै मञ्चमा अभिव्यक्त गरिएको थियो ।
कार्यक्रममा विद्यालयका तीनै तह प्राथमिक वर्ष कार्यक्रम (पाइपी), मध्य वर्ष कार्यक्रम (एमवाईपी) र डिप्लोमा कार्यक्रम (आइबीडीपी) का प्रतिनिधित्व गर्ने गरी कुल छ जना विद्यार्थी वक्ता रहेका थिए। वक्ताहरू दर्शनीका न्यौपाने (पाइपी कक्षा ५), ज्योत्सना खड्का (एमवाईपी १), आयुष्यमान अग्रवाल (एमवाईपी ३), सौर्य श्रेष्ठ (कक्षा १०), मन्त्र पोखरेल (कक्षा १०) र हृदिमा अग्रवाल (आइबीडीपी १)। उनीहरूले साहस, सहानुभूति, आफ्नै अनुभव र आत्मस्वरका कथा बाँड्दै साना कुराबाटै प्रेरणा र परिवर्तन सुरु हुने सन्देश दिए।
विद्यार्थी वक्तासँगै पाँच जना अतिथि वक्ताहरूले पनि आफ्ना प्रेरणादायी विचारहरू प्रस्तुत गरे। अतिथि वक्ताहरूमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, सञ्चारकर्मी सुगरिका केसी, वैज्ञानिक डा. सुनिता घिमिरे गौतम (सन् २०२४ की ओडब्लुएसडी अर्ली करियर फैलो), सामाजिक उद्यमी विक्रान्त पाण्डे (फाइटब्याक नेपाल) र विज्ञापन संघ नेपालका उपाध्यक्ष तथा आउटरीच नेपालका संस्थापक उजाय शाक्य रहेका थिए। उनीहरूले नेतृत्व, सामाजिक जिम्मेवारी, विज्ञान र सञ्चारका क्षेत्रमा आफ्ना अनुभव र दृष्टिकोण बाँडे।
कार्यक्रमको अन्त्यमा प्रिमियरकी संस्थापक निर्देशक पवित्र लिम्बूले धन्यवाद ज्ञापन गर्दै भनिन्, ‘टेड एक्स जस्ता मञ्चहरूले विद्यार्थीहरूलाई नयाँ विचार पत्ता लगाउन, ती विचार व्यक्त गर्न र कक्षाकोठाभन्दा बाहिरको जीवनका लागि तयार हुन मद्दत गर्छन्। आजको कार्यक्रम बौद्धिक र भावनात्मक दुवै यात्राको प्रतीक बन्यो — र यसले विद्यार्थीहरूलाई अग्रगामी सोचका साथ अघि बढ्न प्रेरित गरेकोमा हामी गर्व गर्छौं।’


