काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत साहस ऊर्जा लिमिटेडले ३४१ मेगावाट क्षमताको बुढीगण्डकी अर्धजलासय जलविद्युत आयोजना बनाउन हकप्रद सेयर निष्कासन गर्न लागेको छ।
सहास ऊर्जाले उक्त आयोजना बनाउन १ सय प्रतिशत हकप्रद सेयर निष्कासन गरेर लगानी जुटाउने भएको छ।
२०८१ कात्तिक चार गते बसेको साधारणसभाले तत्काल कायम रहेको सेयरमा १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने गरी गरेको निर्णयमा संशोधन गरी यसै सञ्चालक समितिको बैठकले जारी गरेको बोनस सेयर पछि कायम हुने चुक्ता पुँजी चार अर्ब ५७ करोड ३८ लाख रुपैयाँबराबरको चार करोड ५७ लाख ३८ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।
कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २१ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ। उक्त बोनस सेयर वितरणमा लाग्ने कर १.१० प्रतिशत रहेको छ।
प्रस्तावित बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी बढेर चार अर्ब ५७ करोड ३८ लाख रुपैयाँ पुग्नेछ। सोही रकमबराबरक बोनस सेयर निष्कासन गर्ने योजना कम्पनीको छ।
हकप्रद सेयर जारीपछि सहास ऊर्जाको चुक्ता पुँजी दोब्बर बढेर नौ अर्ब १४ करोड ७६ लाख रुपैयाँ पुग्नेछ। गत आर्थिक वर्षमा कम्पनीले ९० करोड २७ लाख रुपैयाँ खुदनाफा गरेको छ। गत वर्ष सहास ऊर्जाले बिजुली बेचेर दुई अर्ब ६४ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ।
अघिल्लो वर्ष साहस ऊर्जाले बिजुली बेचेर २ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
सहास ऊर्जाले बुढीगण्डकी आयोजना व्यवसायी दीपक मल्होत्राबाट दुई अर्ब रुपैयाँमा खरिद गरेको हो। उनले टाइम्स इनर्जीमार्फत आयोजना बनाउन लागेका थिए । उनलाई लगानी जुटाउन नसकेका बेला साहस ऊर्जाले आयोजनाको स्वामित्व खरिद गरेको हो।
नेपाल विद्युत प्राधिकरण र आयोजनाबीच विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भइसकेको छ। आयोजना बनाउन ५१ अर्ब रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।
अर्धजलाशय आयोजनाबाट वार्षिक १ अर्ब ८३ करोड ७१ लाख ६० हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ।
आयोजनाको डिजाइन बहाब १ सय घनमिटर प्रतिसेकेन्ड छ। कुल हेड ३९८ मिटर रहने छ।
सुक्खायाममा पनि आयोजना दैनिक ५ घन्टा पूर्णक्षमतामा सञ्चालन गर्न सकिने अध्ययनले देखाएको छ। दैनिक ५ घन्टा पिकिङ हुने गरी आयोजना डिजाइन गरिएको कम्पनीले जनाएको छ।
आयोजनाको मुख्य संरचना बुढीगण्डकी नदीको दायाँ किनारमा प्रस्ताव गरिएको छ। बुढीगण्डकीमा बाँध बाँधी नदीको दायाँपट्टि निर्माण हुने इन्टेकबाट पानी फर्काइ मुख्य संरचनाबाट भूमिगत सुरुङमा लगिने छ।
बिजुली उत्पादनका लागि बनाइने बाँधको लम्बाइ ५४ मिटर हुनेछ। बाँधमा १७ लाख घनमिटर पानी सञ्चय गर्न सकिने छ। बाँधको उचाइ ३८ मिटर हुने कम्पनीले जनाएको छ।
विद्युतगृहमा ५७ मेगावाट क्षमताका ६ वटा भर्टिकल एक्सेस पेल्टर्न टर्बाइन जडान गरिने छ। आयोजनाबाट उत्पादन हुने बिजुली २२० केभी प्रसारण लाइन हुँदै ४५ किलोमिटर दुरीमा रहेको नुवाकोटमा बन्ने मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले बनाइरहेको ४ सय केभी क्षमताको रातमाटे सबस्टेसनमा समाहित हनेछ।
आयोजना गण्डकी प्रदेश गोरखाको चुमनब्री र धार्चे गाउँपालिकामा पर्छ ।
साहस ऊर्जाले ८६ मेगावाटको सोलुखोला (दुधकोसी) आयोजना बनाई अहिले सञ्चालन गरिरहेको छ। आयोजनाले २०७९ माघ अन्तिम सातादेखि व्यावसायिक उत्पादन थालेको हो।


