काठमाडौं। फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेको छ। कम्पनीले १७ करोड ६० लाख रुपैयाँबराबरको १७ लाख ६० हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो।
आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त गरेको फेदीखोला हाइड्रोपावरले जनाएको छ।
कम्पनीको अधिकृत तथा जारी पुँजी ८० करोड रुपैयाँ छ। सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष योजना, कम्पनीमा कार्यरत कर्मचारी तथा सर्वसाधारणलाई निष्कासन हुने भएको छ।
निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौतापत्रमा फेदीखोला हाइड्रोपावरका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलाल तथा एनएमबी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपेशकुमार वैद्यले हस्ताक्षर गरेका छन्।
भोजपुर जिल्लाको सापाल्पासिलिछो गाउँपालीका वडा नम्बर ६ मा बहने फेदी (थुमलुङ्ग) खोलामा निर्माण भैरहेको ४.३ फेदी (थुमलुङ्ग) जलविद्युत आयोजनाको कुल लागत करिब ९४ करोड रुपैयाँ रहेकोछ।
हालसम्म करिब ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको छ। आयोजना आउँदो माघभित्र सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ।
नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पुरा गरी आईपीओ निष्काशनको प्रक्रिया अगाडी बढाइने प्रबन्ध सञ्चालक दुलालले बताए।
