काठमाडौं। मौलाकाली केबलकारको माथिल्लो स्टेशनमा रहेको इला होटेल एण्ड रिसोर्ट सञ्चालनमा आएको छ। मौलाकाली केबलकारको सेवा पनि अबको केही दिनमै सञ्चालनमा आउने आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका ढकालले गत भदौ २४ को घटनामा भएको क्षतिबाट प्रभावित केबलकार बटम स्टेशनका संरचनाहरू मर्मत–सम्भार सम्पन्न हुने चरणमा पुगेको बताए।
“हाम्रो प्रयास र प्रतिबद्धता सकेसम्म छिटो सेवा पुनः सुचारु गर्ने र अझ बलियो भएर अघि बढ्ने हो। अप्ठ्यारो समयमा हामीलाई साथ, हौसला र विश्वास गर्ने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु” ढकालले भनेका छन्।
नयाँ ऊर्जा, नयाँ उत्साह र अझ स्तरीय सेवासहित स्वदेशी तथा विदेशी पाहुनाको स्वागत गर्न पूर्ण रूपमा तयार भएको उनले जानकारी दिए।
पर्यटन प्रवर्द्धन, स्थानीय अर्थतन्त्रको सुदृढीकरण तथा धार्मिक गन्तव्यको प्रवर्द्धनका लागि हामी सदैव प्रतिबद्ध रहेको उनले स्पष्टपारेका छन्।


