काठमाडौं। आइएमई खल्ती लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण रेग्मीलाई नियुक्त भएका छन्। सोमबार बसेको सञ्चालक समितीको ११औँ बैठकले रेग्मीलाई आगामी ४ वर्षका लागि आज देखि लागु हुने गरी नियुक्त गरेको हो।
यसअघि आइएमई डिजिटल सोलुसन लिमिटेडको सीईओको जिम्मेवारीमा रहेका रेग्मी दुई कम्पनी मर्जर पश्चात आइएमई खल्ती लिमिटेडको सञ्चालक समिति सदस्य थिए।
फिनटेक, बैंकिङ तथा डिजिटल ट्रान्सफर्मेसनको क्षेत्रमा डेढ दशकभन्दा बढीको अनुभवसहित उनले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक र सक्षम बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्।
बढदै गएको डिजिटल कारोबार र क्यासलेसतर्फ उन्मुख नेपाली अर्थतन्त्रको सवालमा रेग्मीले उल्लेख्य भूमिका निर्वाह गर्ने पनि कम्पनीले जनाएको छ। यस अघि सीईओको जिम्मेवारीमा रहेका विनय खड्का भने आफ्नो चार वर्षे कार्यकाल सकाएर विदा भएका छन्।
रेग्मीले पीएसपी संघ नेपालका संस्थापक अध्यक्षका रूपमा पनि भुक्तानी सेवा प्रदायक कम्पनीहरूबीचको सहकार्य, समन्वय र नीतिगत सुधारमा उल्लेखनीय भूमिका निर्वाह गरेका छन्।


