काठमाडौँ: बाराको सिमराका लागि निर्धारित आजका सबै उडान रद्द गरिएका छन्। नेकपा एमालेका महासचिव शंकर पोखरेल र युवा इन्चार्ज महेश बस्नेतसहितको टोली बाराको परवानीपुरमा हुने प्रदेशस्तरीय भेलामा सहभागी हुन जान लागेपछि उनीहरू चढेको जहाज अवतरण गर्न नदिने भन्दै त्यहाँका जेनजी युवाहरूले विमानस्थल अगाडि प्रदर्शन गरेका थिए।
उनीहरूले विमानस्थलको गेट फोड्नुका साथै सडकमा टायर बालेर प्रदर्शन समेत गरेका थिए। सो क्रममा पोखरेल र बस्नेतलाई स्वागत गर्न आएका एमाले कार्यकर्ता र जेनजी समूहबिच झडप भएको थियो।
स्थिति तनावग्रस्त भएपछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश जारी गरेको छ। कर्फ्यु आदेश जारी भए पनि युवाहरू सडकमा आउने क्रम रोकिएको छैन।
एमाले नेताहरू पोखरेल र बस्नेतसमेत चढेको जहाज बिहान १०ः३५ बजे उड्ने तय भए पनि बारामा प्रदर्शन भएपछि जहाजमा चढिसकेका यात्रुहरूलाई उतारेर उडान रद्द गरिएको थियो।




