काठमाडौँ: कर्णाली प्रदेशले आर्थिक वर्ष २०८१/८२ को वित्तिय विवरण सार्वजनिक गरेको छ। गत आवमा कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थाहरूले कृषि क्षेत्रमा प्रवाहित कर्जामा उल्लेखनीय गिरावट देखिएको छ।
गत वर्षको तुलनामा कृषि कर्जा ७.७० प्रतिशतले घटेर कुल रु. ४ अर्ब ९८ करोड ४९ लाखमा सीमित भएको प्रदेशस्तरीय तथ्याङ्कले देखाएको छ। कृषि क्षेत्रलाई प्राथमिकता दिएर कर्जा विस्तार गर्ने सरकारी नीति रहे पनि व्यवहारिक रूपमा कर्जाको पहुँच कमजोर हुन गएको छ। समीक्षा वर्षमा प्रवाहित कर्जा शीर्षकगत रूपमा हेर्दा पशुपालन/पशुवधशाला क्षेत्रले सबैभन्दा धेरै कर्जा पाएको छ, जसको मात्रा रु. १ अर्ब १६ करोड २९ लाख रहेको छ। यसैबीच, सिँचाइ शीर्षकमा भने कुनै पनि कर्जा प्रवाह नभएको तथ्याङ्कले देखाएको छ।
प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै कृषि कर्जा सुर्खेत जिल्लामा प्रवाहित भएको छ, जसको मात्रा रु. १ अर्ब ७६ करोड ३५ लाख रहेको छ। विपरीत रूपमा, सबैभन्दा कम कर्जा मुगु जिल्लाले पाएको छ, जहाँ कर्जा प्रवाह रु. १२ करोड ८४ लाखमा सीमित छ।
प्रकाशित: २०८२ मङ्सिर ३ गते बुधबार ०६:१०