बारा: बुधबार नेकपा एमालेका नेताहरूलाई सिमरा विमानस्थलमा अवतरण गर्न नदिने भन्दै जेनजीहरूले गरेको प्रदर्शनमा जेनजीहरूलाई कुटपिट गरेको आरोपमा दुई वडाअध्यक्ष पक्राउ परेका छ्न्। बुधबार सिमरामा नेकपा एमालेका कार्यकर्तासँग वादविवाद चर्किएपछि जेनजी युवाले ६ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए।
जाहेरीपछि प्रहरीले बिहीबार बिहान जीतपुर–सिमरा उपमहानगरपालिका–२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा–६ का अध्यक्ष कैमोदिन अन्सारीलाई पक्राउ गरेको छ। दुवै जनप्रतिनिधि एमालेबाट निर्वाचित हुन्। बाँकी आरोपित पक्राउ नपरेको कारण जेनजी पक्षले आज पनि सडकमा पुनः आन्दोलन चर्काएको छ।
बिहीबार बिहान पनि निरन्तर जारी रहँदा स्थिति नियन्त्रणमा राख्न जिल्ला प्रशासन कार्यालय बाराले दिउँसो १२:४५ बजेदेखि राति ८ बजेसम्म कर्फ्यू आदेश लागू गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी छविरमण सुवेदीका अनुसार कर्फ्यू पथलैयादेखि दक्षिण जीतपुरको ललका पुलसम्म राजमार्ग दायाँ–बायाँ ५०० मिटर र सिमरा विमानस्थल वरपर ५०० मिटर क्षेत्रमा लागू गरिएको छ। बिहान ११ बजेदेखि जेनजी युवाहरू सिमरा चोकमा टायर बालेर प्रदर्शनमा उत्रिंदा भीड नियन्त्रणका लागि प्रहरीले सामान्य बल प्रयोग गर्नुपरेको थियो।
बिहीबार जेनजीहरूले टायर बालेर सडक अवरुद्ध गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन खोजेको थियो। त्यसक्रममा युवाहरूले प्रहरीमाथि ढुंगाइँट्टा प्रहार गरेपछि प्रहरी पछि हटेको छ। प्रहरी पछि हटेपछि सडकमा प्रदर्शनकारीहरू जम्मा भएर प्रदर्शन र नाराबाजी गरिरहेका छन्।


