काठमाडौँ: नेसनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) को एकदिने एएमएलरसीएफटी इन्फोर्समेन्ट एमिड इन्क्रिज्ड मोनिटरिङ (ग्रे लिस्टिङ) च्यालेन्जेज विषयको ‘एन्टी मनी लन्डरिङ एनुअल कन्फरेन्स २०२५’ सम्मेलन सम्पन्न भएको छ। बिहीबार काठमाडौँमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा एनबीआईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले एफएटिएफले नेपाललाई ग्रे लिस्ट मा राखेपछि नेपालले सो सूचीबाट बाहिर निस्किन अपनाउनुपर्ने उपायहरूमा सम्मेलन केन्द्रित रहेको बताए। कार्यक्रममा स्वदेशी तथा विदेशी विज्ञहरूले आ–आफ्ना धारणा राखेका थिए। सो क्रममा मङ्गोलियाको केन्द्रीय बैंकका निर्देशक गनमेट दबाखुले कसरी मङ्गोलिया एक वर्षमा ग्रे लिस्ट बाट बाहिरिन सफल भयो भन्ने अनुभव साझा गरेका थिए।
करिब १५० जना सहभागीसहितको उक्त कार्यक्रममा बैंक तथा वित्तीय संस्था र अन्य सूचक निकायका प्रतिनिधिहरूको उपस्थिति थियो। नेपाल सरकार अर्थमन्त्रालयको सम्पत्ति शुद्धिकरण शाखाका डा हरिकुमार नेपाल, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका निर्मल ढकाल, नेपाल राष्ट्र बैंकको एएमएल सुपरिवेक्षण महाशाखाका प्रदीप बानिया, नेपाल बीमा प्राधिकरणका हृदयश्वर पण्डित तथा नेपाल धितोपत्र बोर्डका रिताम्बरा बस्नेतले नेपालको ग्रे लिस्टस्थितिबारे विश्लेषण गर्दै आवश्यक सुधारका कदमहरूबारे प्रस्तुति दिएक थिए।
त्यसैगरी, भुवन दाहालको सहजीकरणमा भएको सामूहिक छलफल सत्रमा नेपाल राष्ट्र बैंकका निर्देशक आर्या जोशी र वासुदेव भट्टराई, नेपाल एसबीआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी तथा मङ्गोलियाका निर्देशक गनमेट दबाखुले सम्पत्ति शुद्धिकरण रोकथाम र नेपालले ग्रे लिस्टबाट बाहिरिनका लागि अपनाउनुपर्ने उपायहरूबारे विचार व्यक्त गरेका थिए।


