काठमाडौँ: बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ। समाचार एजेन्सी एएनआईका अनुसार सोमबार मुम्बईस्थित आफ्नै निवासमा उनको निधन भएको हो। धर्मेन्द्र लामो समयदेखि बिरामी थिए। सन् १९६० बाट अभिनय यात्रा सुरु गरेका धर्मेन्द्रले ३०० भन्दा बढी चलचित्रमा काम गरेका छन्।
धर्मेन्द्रको निधनको खबर पुष्टि भएदेखि उनीप्रति ख्यातीप्राप्त कलाकारदेखि शुभेच्छुकहरुले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। अभिनेता अक्षय कुमारले नयाँ पुस्तालाई प्रेरणा दिने कलाकाकारका रुपमा स्मरण गरे। ‘पुस्ताहरूलाई प्रेरणा दिनुभएकोमा धन्यवाद। तपाईं आफ्ना चलचित्रहरू र तपाईंले फैलाएको प्रेममार्फत जीवित रहनुहुनेछ। ओम शान्ति,! अक्षयले इन्स्टाग्राममा भनेका छन्।
आफ्नो इन्स्टाग्राम पोस्टमा, अभिनेत्री सुष्मिता सेनले धर्मेन्द्रलाई एक अविश्वसनीय मानवको रूपमा वर्णन गरिन्। धर्मेन्द्रको निधनको खबरले फिल्म उद्योगका धेरै सदस्यहरूले उनलाई बलिउडका ‘ही म्यान’ भनेर सम्बोधन गरेका छन्। धर्मेन्द्रलाई अन्तिम श्रद्धाञ्जली दिन विले पार्लेको पवन हंस घाटमा असंख्य कलाकारहरु पुगेका छन्। मेगास्टार अमिताभ बच्चन, उनका छोरा अभिषेक बच्चनदेखि लिएर लेखक सलीम खान र उनका छोरा सलमान खानसम्म अन्तिम संस्कारमा पुगेका थिए।
त्यस्तै अक्षय कुमार, आमिर खान, अनिल कपूर, जायद खान, संजय दत्त र सिद्धार्थ रोय कपूरले पनि अन्त्येष्टिमा धर्मेन्द्रलाई श्रद्धाञ्जली अर्पण गरे। त्यस्तै, हेमा मालिनी र उनकी छोरी इशा देओल घाटमा पुगेका थिए। ‘शोले’, ‘चुपके चुपके’, ‘फूल और पत्थर’, ‘सीता और गीता’, ‘प्रतिज्ञा’लगायत दर्जनौँ सदाबहार काम गरेका धर्मेन्द्र दर्जनौं प्रतिष्ठित अवार्ड जितेका छन्।
सन् १९९७ मा फिल्मफेयर लाइफटाइम अचिभमेन्ट अवार्ड जितेका धर्मेन्द्रलाई भारत सरकारले सन् २०१२ मा पद्मभूषणबाट सम्मान गरेको थियो। १९६० मा चलचित्र ‘दिल भी तेरा हम भी तेरे’बाट सिनेयात्रा सुरु गरेका धर्मेन्द्रको जन्म ८ डिसेम्बर १९३५ मा पञ्जाबको नसरालीमा भएको थियो।


