भोजपुर। वैदेशिक रोजगारीबाट फर्किपछि डेरी उद्योग सुरु गरेका पौवादुङमा–१ श्यामशिलाका युवा दीपकुमार राईले राम्रो आम्दानी गरेका छन्। राईले छिन्तालुङ डेरी उद्योगमार्फत दैनिक ४०० लिटर दूध संकलन गर्दै आएका छन्। यसबाट राम्रो आम्दानी भएको उनको भनाइ छ।
संकलन गरिएको दूधबाट उनले छुर्पी बनाउछन्। वार्षिक ५० लाख रुपैयाँ बराबरको छुर्पी बाहिर पठाउदै आउएका राईले मासिक करिब ४०० देखि ५०० किलो उत्पादन गर्दै आएका छन्। “मैले दूधभन्दा पनि मुख्य रूपमा छुर्पी बनाएर बेच्ने गरेको छु”, उनले भने, “यहाँको छुर्पी बाहिरका जिल्लामा मात्र नभई विदेशसम्म पनि जाने गरेको छ।”
गुणस्तरीय छुर्पी प्रतिकिलो ११ सय ५० रुपैयाँसम्म बिक्री हुने गरेको उनले सुनाए। गाउँपालिकाले किसानलाई लक्षित गरेर अनुदानमा गाई वितरण गरेपछि दूध संकलनमा समस्या नरहेको राईले जानकारी दिए।
“किसानले उत्पादन गरेको दूध सदरमुकामसम्म लैजान समस्या थियो”, उनले भने, “यहाँ नै उद्योग सञ्चालन भएपछि किसानलाई बिक्रीमा सहज भएको छ। म घरघरमै पुगेर दूध संकलन गर्छु।” उनले नौनी घ्यू प्रतिकिलो ७५० र खरुवा घ्यू एक हजार रुपैयाँमा बिक्री गर्दै आएका छन्।
गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउन दुग्ध ‘मिसन कार्यक्रम’ सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए। पशुपालनका लागि उपयुक्त क्षेत्रमा उन्नत जातका गाईभैँसी अनुदानमा प्रदान गरिएको उनले बताए।


