काठमाडौँ: आध्यात्मिक चिन्तक डा. मुरली अधिकारी लिखित ‘सत्य गीता’ बजारमा आएको छ। किताबमा ‘गीता’ ले भनेका मोक्ष साधनाहरूको सत्यमाथि नयाँ ढंगले व्याख्या गरिएको छ।
‘गीता’ मा श्रीकृष्णले प्राणीलाई समानता शिक्षा दिएका छन्। जस्तो श्रीकृष्ण भन्छन्, ‘हाम्रो सांसारिक सम्बन्ध जस्तो भए पनि व्यवहारमा समानता–भाव हुनुपर्छ।’ लेखकले ‘सत्य गीता’ लाई ‘मोक्ष साधना ग्रन्थ’ भनेका छन्। ‘यो साधना ग्रन्थले मानिसको मनमा जन्म–जन्मान्तरदेखि संग्रह भएका त्रिगूणी संस्कारहरू र ‘म’ भावरुप मूल अज्ञान नष्ट गरेर समानान्तर रुपमा मनको समत्वको विस्तार गर्दै परमात्मासँग योग वा मोक्ष प्राप्त गर्न सकिन्छ भन्ने साधना विधिको व्याख्या गर्छ,’ लेखक मुरली भन्छन्। किताब लेखकको झण्डै अठार वर्षको अध्ययनबाट लेखिएको हो। लेखकका यसअघि ‘धर्मचक्र प्रवर्तन सुत्त’, ‘विपश्यना साधना’ जस्ता कृति प्रकाशित छन्।
‘सयौं वर्ष पहिले लेखिएको मानिने गीताको भव्य ज्ञान अझै सान्दर्भिक ठानेर प्रकाशन गरेका हौं,’ प्रकाशन गृह शिखा बुक्सका प्रकाशक पुष्पराज पौडेल भन्छन्, ‘गीताबाट सारा मानिसले समानताको पाठ सिक्न सक्छन्।’ १८ अध्यायमा बाँडिएको ‘गीता’ माथि आधारित किताब ‘सत्य गीता’ ले गीताको नवीन व्याख्या गरेको छ।
शिखा बुक्सले बजारमा ल्याएको किताबको मूल्य १३ सय ७५ रहेको छ।


