काठमाडौं। डेढ वर्षदेखि रोकिएको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको बुक बिल्डिङ विधिमार्फत प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को प्रक्रिया पुनः अघि बढाउन नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अनुमति दिएको छ।
बोर्डले मंगलबार निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटललाई पत्र लेख्दै आईपीओ निष्कासन प्रक्रिया जारी राख्न निर्देशन दिएको हो।
रिलायन्स स्पिनिङ मिल्सले २०८१ असार १२ गते बुक बिल्डिङ विधिमार्फतआईपीओ निष्कासनका लागि स्वीकृति पाएको थियो। सो क्रममा संस्थागत लगानीकर्ताले प्रतिकित्ता ९१२ रुपैयाँका दरले शेयर किनेका थिए। तर, विभिन्न उजुरी परेपछि सेबोनले प्रक्रिया रोकिदिएको थियो। यसविरुद्ध रिलायन्स उच्च अदालत पाटन पुगेपछि अदालतले आईपीओ जारी प्रक्रिया अघि बढाउन परमादेश जारी गरेको हो।
आईपीओ ल्याउन लागेको रिलायन्स स्पिनिङको धागो व्यापारमा रेकर्ड, एक वर्षमा सवा १० अर्बको कारोबार
कम्पनीले डेढ वर्षअघि सर्वसाधारणका लागि प्रतिकित्ता ८२०.८० रुपैयाँका दरले प्रिमियम मूल्यको आईपीओ निष्कासनको तयारी अघि बढाएको थियो। संस्थागत लगानीकर्तालाई भने यसअघि नै प्रतिकित्ता ९१२ रुपैयाँमा शेयर बिक्री भइसकेको छ। उद्योगले ११ लाख ५५ हजार ९६० कित्ता शेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो।
शेयर बिक्री गरेर सर्वसाधारणबाट कम्पनीले ९४ करोड ८८ लाख ११ हजार ९६८ रुपैयाँ उठाउने भएको छ। बुक बिल्डिङ विधिमार्फत निष्कासन हुने आईपीओमा सर्वसाधारणले कम्तिमा ५० कित्ता सेयरका लागि आवेदन दिनुपर्ने व्यवस्था छ।
रिलायन्सको आईपीओ भर्न न्यूनतम ४१ हजार ४० रुपैयाँ चाहिने भएको छ।
अब बोर्डको ताजा निर्देशनसँगै कम्पनीले विदेशमा रहेका नेपाली नागरिक र सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने छ।यससँगै लामो समयदेखि रोकिएको रिलायन्स स्पिनिङ मिल्सको आईपीओ अब छिट्टै सर्वसाधारणका लागि खुल्ने अपेक्षा गरिएको छ।


