काठमाडौं। सनवे कलेज काठमाडौं र कानुन एआई प्रालिले नेपालको कानुनी प्रविधि (लिगल टेक) क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी अनुसन्धान, शिक्षा र यसको नैतिक विकासलाई अघि बढाउन तीन वर्षे रणनीतिक साझेदारीको घोषणा गरेका छन्।
सनवे कलेज काठमाडौँका निर्देशक खुशल रेग्मी र कानुन एआईका प्रमुख प्राविधिक अधिकृत प्राञ्जल तिम्सिनाद्वारा हस्ताक्षरित उक्त समझदारीपत्रले जिम्मेवार एआई नवप्रवर्तनमा केन्द्रित रही प्राज्ञिक र औद्योगिक क्षेत्रबीचको सहकार्यका लागि एक बृहत् खाका तयार गरेको छ।
एआई र नैतिक शिक्षा साझेदारहरूले प्राज्ञिक कठोरता र औद्योगिक विज्ञताको संयोजन गर्दै ुआर्टिफिसियल इन्टेलिजेन्स र नैतिकताु सम्बन्धी बृहत् पाठ्यक्रम संयुक्त रूपमा विकास गरी सञ्चालन गर्ने उल्लेख छ।
यस कार्यक्रमले एआईका आधारभूत कुराहरू, नैतिक सिद्धान्तहरू, पूर्वाग्रह र निष्पक्षता, सुशासनका ढाँचाहरू र कानुनी प्रविधिमा यसको व्यावहारिक प्रयोगलाई समेट्ने भएको छ।
अनुसन्धान र विकास तथा संयुक्त अनुसन्धान परियोजनाहरू नेपालको न्यायपालिका र कानुनी क्षेत्रका लागि एआईमा आधारित कानुनी प्रविधिका समाधानहरूमा केन्द्रित हुनेछन्।
यसमा कानुनी कागजातहरूका लागि नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ, एआई सञ्चालित मुद्दा व्यवस्थापन प्रणाली र न्यायिक सहयोगका लागि प्रिडिक्टिभ एनालिटिक्सु समावेश हुनेछन्।
नीतिगत अनुसन्धानः यो साझेदारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा एआई नीतिगत ढाँचाहरूमा प्राज्ञिक अध्ययनलाई अघि बढाउनेछ। यसले नियमनकारी दृष्टिकोण, सुशासन संयन्त्र र एआईको प्रयोगमा हुने नैतिक विचारहरूको समीक्षा गर्ने भएको छ।
जनचेतनाः कार्यशाला, गोष्ठी, सम्मेलन र सामुदायिक कार्यक्रमहरू मार्फत साझेदारहरूले विद्यार्थी, कानुन व्यवसायी, नीति निर्मातादेखि सर्वसाधारणसम्मका विभिन्न सरोकारवालाहरूलाई एआईका अवसर र जोखिमहरूबारे शिक्षित गर्नेछन्।
यो साझेदारीले प्राज्ञिक उत्कृष्टतालाई औद्योगिक नवप्रवर्तनसँग जोड्ने सनवेको प्रतिबद्धतालाई दर्शाउने सनवे कलेज काठमाडौँका निर्देशक कुशल रेग्मीले बताए।
उनले कानुन एआईसँगको सहकार्यमार्फत हामी हाम्रा विद्यार्थीहरूलाई एआई निर्देशित भविष्यका लागि तयार पारिरहेको र नेपालमा जिम्मेवार प्रविधि विकासमा योगदान पुर्याउने लक्ष्य लिएको जानकारी दिए।
कानुन एआईका प्रमुख प्राविधिक अधिकृत प्रान्जल तिम्सिनाले सनवे कलेजसँगको सहकार्यले कानुनी प्रविधिमा एआईको प्रयोगलाई अघि बढाउन र यसको नैतिक विकास सुनिश्चित गर्न एक सशक्त मञ्च सिर्जना गरेको बताए।
दुबै संस्था मिलेर एआई सुशासन र न्यायमा पहुँचसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहसहरूमा योगदान पुर्याउने प्रतिबद्धता जनाएका छन्।
यस साझेदारीलाई त्रैमासिक रूपमा बस्ने संयुक्त समन्वय समितिले निर्देशन गर्ने भएको छ। जसले कार्यान्वयनको अनुगमन गर्नेछ। यसमा दुबै संस्थाले परिपूरक स्रोतहरू उपलब्ध गराउने भएका छन्।
सनवेले प्राज्ञिक विज्ञता, अनुसन्धानका पूर्वाधार र विद्यार्थी सहभागिता प्रदान गर्नेछ भने कानुन एआईले प्राविधिक विज्ञता, औद्योगिक अनुभव र एआई प्लेटफर्महरूमा पहुँच उपलब्ध गराउनेछ।
यो सहकार्यले बौद्धिक सम्पत्तिको संयुक्त स्वामित्व, तथ्याङ्क सुरक्षा (डाटा प्रोटेक्सन) को पालना र पारदर्शी सुशासनमा जोड दिँदै दुवै संस्थालाई जिम्मेवार एआई विकासमा अग्रणीका रूपमा स्थापित गर्नेछ।
सनवे कलेज काठमाडौँ गुणस्तरीय शिक्षा प्रदान गर्न तथा नवप्रवर्तन, अनुसन्धान र औद्योगिक सहकार्यलाई बढावा दिन प्रतिबद्ध एक अग्रणी शैक्षिक संस्था हो।
राजधानीको मैतिदेवीमा अवस्थित कलेजले विद्यार्थीहरूलाई विश्वव्यापी अवसरहरूका लागि तयार पार्न विविध शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
यस्तै कानुन एआई प्रालि कानुनी प्रविधि क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगमा विशेषज्ञता राख्ने एक प्रविधि कम्पनी हो।
ललितपुरमा आधारित यस कम्पनीले न्यायमा पहुँच बढाउन र कानुनी प्रणालीमा दक्षता अभिवृद्धि गर्न नवीनतम समाधानहरू विकास गर्दै आएको छ।


