काठमाडौँ: गत वर्षको ‘बैंक अफ द इयर’ अवार्ड पाएको सिटिजन्स बैंक इन्टरनेसनलले यस वर्ष पनि उक्त अवार्ड प्राप्त गरेको छ। बेलायतको प्रतिष्ठित फाइनान्सियल टाइम्स ग्रुप अन्तर्गतको द बैंकर म्यागजिनले उक्त अवार्ड प्रदान गरेको हो।
बैंकले पछिल्लो एक वर्षमा अपनाएको डिजिटल रणनीति, प्रक्रियागत सरलीकरण र ग्रामीण–अर्धशहरी अर्थतन्त्रमा पुर्याएको प्रभावकारिताका कारण सिटिजन्स बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो।
बैंकले आन्तरिक शासन प्रणालीमै ठूला परिवर्तन गर्दै कर्जा स्वीकृति प्रक्रियालाई आधुनिक बनाएको छ। पहिले ९ तह पार गर्नुपर्ने कर्जा स्वीकृतिको झन्झटिलो संरचना हटाएर बैंकले ‘सेन्ट्रलाइज्ड क्रेडिट अन्डरराइटिङ युनिट’ स्थापना गरेको छ, जसले सबै स्वीकृति ‘सिंगल रोल’ बाटै हुने व्यवस्था मिलाएको छ। यस परिवर्तनपछि ७९९ नयाँ कर्जा फाइल र ५१२ नवीकरण फाइल छरितो गतिमा प्रक्रियामा अघिबढेको बैंकले बताएको छ।
प्रविधि नवप्रयोगमा पनि सिटिजन्स अग्रस्थानमा छ। नेपालमै पहिलोपटक ‘एनी ब्रान्च टेलर’ अर्थात् ‘क्रस–बैंक क्युआर’ सेवा सुरू गरी बैंकले आफ्नो शाखामा अन्य बैंकका ग्राहकलाई समेत क्युआर स्क्यान गरेर काउन्टरबाटै नगद निकाल्न सक्ने सुविधा दिएको छ। त्यस्तै शेयर बजारका लगानीकर्ता लक्षित ‘मोबाइल आस्वा’ सेवाले मोबाइल बैंकिङमार्फतै आईपीओ भर्न सकिने सुव्यवस्था प्रदान गरेको छ।
बैंकले वातावरणमैत्री अभियान अन्तर्गत ‘इभी इन्फ्रास्ट्रक्चर लोन’मार्फत चार्जिङ स्टेसन निर्माण र विद्युतीय सवारी उपकरण खरिदमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्दै आएको छ। साथै, जर्मनीको ‘केएफडब्लु डेभलपमेन्ट बैंक’ र नेपाल सरकारको साझेदारीमा चलिरहेको ‘सेड्रा थ्री’ परियोजनामा बैंकले ग्रामीण तथा अर्ध–शहरी क्षेत्रमा रहेका साना–मझौला उद्यमीलाई २ लाखदेखि ४० लाखसम्मको कर्जा उपलब्ध गराउँदै ‘मिसिङ मिडल’ वर्गलाई वित्तीय पहुँचमा जोड्न महत्त्वपूर्ण योगदान पुर्याएको छ।
दोस्रोपटक उक्त अवार्ड पाएपछि बैंकले आफ्नो बैंकिङ अनुभवलाई नवीनता र उन्नति गर्न जारी राख्दा आफूहरूलाई विश्वास गरेकोमा गर्व महशुस गरेको प्रतिक्रिया जनाएको छ।







