काठमाडौँ: गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा दोस्रो दिन प्रदर्शनकारीको निशानामा परेको होटल हायात हाल पूर्णरूपमा बन्द छ। आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीजस्ता क्रियाकलापले होटल संरचनामा क्षति पुगेको थियो।
तोडफोड र आगजनीले होटलका अतिथि कक्ष, कार्यकक्ष, रिसेप्सन, लबी, रेष्टुरेन्ट, बैंक्वेट, चैत्यलगायत संरचनामा क्षति पुगेपछि होटलको मर्मतसम्भार गरी पुन: सञ्चालनमा ल्याउन एक वर्ष लाग्ने जानकारी कम्पनीले विज्ञप्तिमार्फत् जानकारी दिएको छ।
आन्दोलनपछि होटलले गएको कात्तिक २६ गते एक विज्ञप्ति जारी गर्दै १३३ जना श्रमिक कटौती निकालेको थियो।
होटल बन्द भएर कर्मचारी निकाले पनि कम्पनीले एक वर्षसम्म ती कर्मचारीहरूलाई न्यूनतम तलब भने उपलब्ध गराउने सम्झौता गरेको छ। व्यवस्थापन र होटलमा कार्यरत मजदुर तथा कर्मचारीहरू आबद्ध नेपाली कांग्रेस, नेकपा एमाले र नेकपानिकट मजदुर संगठनहरूबिच एक वर्षसम्म न्यूनतम तलब उपलब्ध गराउने सहमति भएको हो।
सरकारले तोकेको न्यूनतम तलब १२ हजार १७० रुपैयाँ रहेको छ। उक्त तलब कर्मचारीले पाउनेछन् भने अन्य सेवासुविधा भने कटौती हुनेछ।


