चन्द्रौटा: करेन्ट नुडल्स (चाउचाउ) का निर्माता, नुडल्स तथा स्न्याक्स उत्पादक कम्पनी यशोदा फुड्सले चन्द्रौटा, कपिलवस्तुस्थित आफ्नो कारखानामा ८६५ केडब्ल्यूपी क्षमताको रूफ–टप सोलार परियोजना जडान गरेको छ। यो परियोजनाले २३ नोभेम्बर २०२५ देखि स्वच्छ तथा हरित सौर्य ऊर्जामार्फत बिजुली उत्पादन गर्न सुरु गरिसकेको छ। यससँगै यशोदा फुड्स, नेपालमा पहिलो पटक सौर्य ऊर्जामा आधारित नुडल्स उत्पादन गर्ने नुडल्स उद्योग बनेको छ।
कम्पनीले ‘नेपालकै पहिलो ग्रिन नुडल्स म्यानुफ्याक्चरिंग फेसिलिटी’ मा आफ्नो नाम राख्न सफल भएको छ। साथै, कपिलवस्तु औद्योगिक करिडोरमा पनि छानामाथि सौर्य नवीकरणीय ऊर्जा प्रयोग गर्ने पहिलो उद्योग बन्न सफल भएको छ। यस सौर्य प्लान्टमार्फत औद्योगिक आवश्यकताको करिब ८०% बिजुली माग पूरा हुने, विद्युत खर्च ६५% ले घट्ने तथा प्रयोग बिहिन रहेको छाना सदुपयोग समेत हुनाका साथै कार्बन उत्सर्जनमा उल्लेखनीय कमी आउने अपेक्षा गरिएको छ।
उक्त परियोजना नेपालकै अग्रणी तथा दीर्घ अनुभव सम्पन्न स्मार्ट सौर्य समाधान प्रदायक प्राइम रिन्यूएवल्स प्रालिद्वारा निर्माण गरिएको हो।
परियोजनाका लागि एनएमबी बैंक लिमिटेडद्वारा वित्तिय सुविधा उपलब्ध गरिएको थियो। त्यसैगरी, जर्मन ग्रान्ट डीकेटीआई परियोजना अन्तर्गत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपीसी)ले व्याज अनुदानसहितको वित्तीय सहयोग प्रदान गरेको हो।
‘हामी समग्र यशोदा फुड्स परिवार, नुडल्स तथा स्न्याक्स क्षेत्रमा नेपालकै पहिलो सौर्य प्रणाली चन्द्रौटा प्लान्टमा जडान गर्न पाउँदा अत्यन्त गर्वित छौँ। यसले कार्बन उत्सर्जन घटाउनुका साथै करेन्ट नुडल्सलाई संचालनमा दिगोपनाको दिशातर्फ लैजान ठूलो मद्दत गर्नेछ,’ प्लान्ट उद्घाटन समारोहमा ग्लोबल एक्जिक्युटिभ डाइरेक्टर जीपी साहले भने, ‘८५६ केडब्ल्यू क्षमताको यस प्लान्टबाट हरेक वर्ष १० लाख युनिटभन्दा बढी बिजुली उत्पादन हुनेछ। जसले २,००० टन सीओटू उत्सर्जन बचत गर्नेछ। यसले उत्पादन लागत घटाउने भएकाले हामी अझ प्रतिस्पर्धी बन्नेछौँ र हाम्रा ग्राहक तथा स्टेकहोल्डरहरूलाई थप भ्याल्यू प्रदान गर्न सक्षम हुनेमा हामी विश्वस्त छौँ।’
यस्ता परियोजनाहरूले नेपाली उद्योगलाई डिकार्बोनाइजेशनतर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने एईपीसीका कार्यक्रम प्रमुख सन्तोष राई बताउँछन्। उनले भने, ‘यसले नेपालका अन्य उद्योगहरूलाई पनि स्वच्छ ऊर्जा अपनाउन प्रेरित गर्नेछ। जर्मन सहयोगमार्फत नेपाल सरकारले प्रदान गरेको सहयोग यस्ता परियोजनाको सफलतामा दीर्घकालीन योगदान दिनेमा हामी विश्वस्त रहेका छौँ।’



