काठमाडौँ: पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले बैंकको ऋण तिर्न शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हकप्रद शेयर निष्काशन प्रस्ताव पारित गर्न यही पुस २३ गते साधारणसभा बोलाएको छ। साधारणसभाले पारित गरेपछि हकप्रद शेयर निष्काशनको प्रक्रिया अघि बढ्ने छ।
कम्पनीले हकप्रद शेयर निष्काशन गरेर तीन अर्ब २० करोड रुपैयाँ जुटाउने भएको छ। हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी दोब्बर बढेर छ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ।
कम्पनीले ५४ मेगावाटको सुपरदोर्दी खोला आयोजना सञ्चालन गरिरहेको छ। प्रसारण लाइनको समस्या देखाउँदै नेपाल विद्युत प्राधिकरणले बिजुली खरिद नगर्दा आयोजनाको आम्दानीमा असर परेको छ।
प्राधिकरणले बिजुली नकिन्दा आयोजनाले शेयरधनीलाई लाभांश दिन नसकेको कम्पनीका प्रवन्ध सञ्चालक केशबबहादुर रायमाझीले बताए। उनले अहिले बैंकबाट लिएका ऋणको ब्याज मात्र तिरिरहेको सुनाए।
यसअघि कम्पनीले हकप्रदबाट संकलन हुने पुँजीको ५० प्रतिशत बैंकको ऋण तिर्न र ५७ मेगावाट क्षमताको हिमचुली दोर्दी आयोजनामा लगानी गर्ने लक्ष्य लिएको थियो।
बैंकको ऋण बढ्दै गएपछि कम्पनी हकप्रद शेयर निष्काशन गरेर दायित्व घटाउन निश्कर्षमा पुगेको उनको भनाई छ। कम्पनीको ऋण दायित्व आठ अर्ब रुपैयाँ बढी छ। सानिमा बैंकको अगुवाइमा ऋण लगानी भएको छ।



