काठमाडौं। बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र भारतको अग्रणी तथा अन्तरर्राष्ट्रियस्तरमा स्थापित होटल लेमन ट्री होटल्स लिमिटेडबीच होटल सञ्चालनको लागि १५ वर्षे फ्रेन्चाइजी तथा व्यवस्थापन सम्झौता भएको छ।
बन्दीपुर केवलकारको तर्फबाट इन्जिनियर विष्णु पन्थी र लेमन ट्रीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विलास पवारले आयोजित समारोहमा सम्झौतामा हस्ताक्षर गरे।
कार्यक्रममा बन्दीपुर केवलकारका अध्यक्ष रामचन्द्र शर्मा, बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट पन्थी र लेमन ट्री होटल्सका प्रमुख कार्यकारी अधिकृत पवार, आरकेडीका कार्यकारी समन्वय अधिकृत वसन्त शर्मा, बन्दीपुर केवलकारका प्रमुख कार्यकारी अधिकृत डा रोमनमान श्रेष्ठले सम्झौताले नेपालको पर्यटन क्षेत्रलाई विश्वमा चिनाउने र नेपाललाई पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सघाउ पुग्ने बताए।
सम्झौताअनुसार बन्दीपुरस्थित होटल अब ‘लेमन ट्री होटल्स’ ब्राण्डको नेटवर्कका रूपमा सञ्चालनमा आउनेछ।
यसले होटलको व्यवस्थापन, ब्राण्ड मान्यता, अन्तरर्राष्ट्रिय बजारीकरण, सेवा विस्तार, गुणस्तर नियन्त्रण, मानव संशाधन विकास तथा वैश्विक आरक्षण प्रणालीमा पहुँच सुनिश्चित गर्नेछ।
यसले लगानीकर्ताको विश्वास बढाउने, बजारमा कम्पनीको विश्वासनीयता वृद्धि गर्ने अपेक्षा गरिएको छ।


