काठमाडौं। पछिल्लो दशकमा स्वास्थ्य क्षेत्रमा लगानी बढिरहेको छ। बैंक तथा वित्तीय संस्थाहरुले ऋण लगानी बढाइरहेका छन्। निजी क्षेत्र पनि उत्साहित भई अर्बौं रुपैयाँ लगानीमा ‘मल्टिस्पेसियालिटी’ हस्पिटल खुल्ने क्रम बढेको छ।
यस्तै चितवन मेडिकल कलेजले साढे ८ अर्ब रुपैयाँ लगानीमा राजधानीको तिनकुनेमा सुविधा सम्पन्न (मल्टिस्पेसियालिटी) काठमाडौं इन्टरनेसनल हस्पिटलको निर्माण गरिरहेको छ। हालसम्म हस्पिटलको ८३ प्रतिशत भौतिक र ७० प्रतिशत वित्तीय प्रगति भएको छ।
हस्पिटल आगामी असारसम्म (२०२६ को मिड जुलाइ) सम्म सञ्चालनमा ल्याउने तयारी भएको छ। निर्माणाधीन १२ तलाको हस्पिटल तीन सय बेडको हुने छ।
हस्पिटल कात्तिकसम्म (मिड अक्टुबर) सम्म सम्पन्न गर्ने लक्ष्य रहेकोकोमा झण्डै नौ महिना पछि धकेलिएको छ। यसअघि २०२४ को जुलाईमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। विभिन्न कारणहरुले निर्माणमा ढिलाइ भएको काठमाडौं इन्टरनेसनलले जनाएको छ।
जग्गा अधिग्रहण, जगको काम, बंकरसहित सबै संरचनात्मक निर्माण सम्पन्न भएको छ। मेकानिकल, विद्युतीय र प्लम्बिङको काम, अस्पताल उपकरण खरिद र आन्तरिक कामहरू प्रगतिमा छन्।
अस्पतालले जुलाई २०२६ को मध्यदेखि १०० शैया र जनवरी २०२७ देखि थप २०० गरी कूल ३०० शैयाको व्यावसायिक सञ्चालन सुरु गर्ने लक्ष्य काठमाडौंको छ।
हस्पिटल अझै निर्माणाधीन अवस्थामा रहेकोले यो चलिरहेको परियोजना कार्यान्वयन र परिकल्पित समय र लागत भित्र यसको सम्पन्नतासँग सम्बन्धित जोखिमहरूको सामना गरिरहेको छ।
२०२२ को फेब्रुअरीबाट हस्पिटलको निर्माण सुरु भएको हो। हस्पिटलको समय लम्बिएपछि लागत पनि थपिएको छ। यसअघि ७ अर्ब ४६ करोड ३० लाख रुपैयाँ लागत अनुमान गरिएको थियो।

ढिलाइले लागत थपिएर ८ अर्ब ४३ करोड ७० लाख रुपैयाँ पुगेको काठमाडौं इन्टरनेसनलले जनाएको छ। परियोजनाको क्षेत्र परिवर्तन, थप जग्गा खरिद र उपकरण खरिद गर्दा लागत बढेको हस्पिटलले जनाएको छ।
हस्पिटलमा २५ प्रतिशत स्वपुँजी (इक्विटी) र ७५ प्रतिशत बैंकको ऋण हुने गरि लगानी संरचना बनाइएको छ। जसअनुसार संस्थापकहरुले कूल इक्विटीको ७६ प्रतिशत लगानी गरिसकेका छन्। हस्पिटलले पाँच अर्ब ९५ करोड ५० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ।
राजस्व र रोजगारी दुवैको हिसाबले स्वास्थ्य सेवा नेपालको सबैभन्दा ठूलो मध्ये एक बनेको छ। अस्पताल, चिकित्सा उपकरण, क्लिनिकल परीक्षण, आउटसोर्सिङ, टेलिमेडिसिन, चिकित्सा पर्यटन, स्वास्थ्य बिमा र चिकित्सा उपकरणहरू समावेश छन्। नेपाली स्वास्थ्य सेवा क्षेत्र यसको सुदृढीकरण कभरेज, सेवाहरू र
सार्वजनिक तथा निजी लगानीकर्ताको खर्च तीव्र गतिमा बढिरहेको छ। बढ्दो आयस्तर, बढ्दो स्वास्थ्य जागरूकता, जीवनशैली रोगहरूको बढ्दो प्राथमिकता र बिमामा सुधारिएको पहुँच वृद्धिको प्रमुख योगदानकर्ता हुनेछ।
काठमाडौं इन्टरनेसनलमा चितवन मेडिकलको बहुमत सेयर लगानी रहेको छ। कलेजले चितवनमा सन् २००६ देखि ७५० बेडको मल्टिस्पेसियालिटी अस्पताल सञ्चालन गरिरहेको छ।
काठमाडौं इन्टरनेसनल हस्पिटलको अध्यक्ष प्राडा हरिश्चन्द्र न्यौपाने रहेका छन्। उनको निर्माणधीन अस्पतालमा बहुमत स्वामित्व छ। काठमाडौं इन्टरनेसनल सन् २०१८ मा स्थापना भएको हो। अस्पताल ६ हजार ५ सय वर्गमिटरमा फैलिनेछ।
निजी क्षेत्रबाट नर्भिक, ग्रान्डी, स्टार, बयोधा र नेपाल मेडिसिटी जस्ता बहुविशेषता भएका अस्पतालहरू सञ्चालनमा आएका छन्।


