काठमाडौं। विवादस्पद सेयर कारोबारी दिपेन्द्र अग्रवाल पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले धितोपत्रसम्बन्धी कसुरमा शुक्रबार काठमाडौं महानगरपालिका–४, चुनदेवीबाट पक्राउ गरेको हो।
गलत सूचना दिएर जलविद्युत कम्पनीको सेयर मूल्य बढाएर लाभ लिनुका साथै कृत्रिम रूपमा कम्पनीको सेयर मूल्य बढाएको आरोपमा पक्राउ गरिएको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिएका छन्।
नेपाल धितोपत्र बोर्डले गरेको प्रारम्भिक जाँचबुझ प्रतिवेदनअनुसार अग्रवालले लाभ लिनका लागि जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर खरिद गरेका थिए। उनले त्यसबापत ४९ लाख १९ लाख रुप्ैयाँ लाभ लिएको अनुसन्धानबाट देखिएको छ।
अग्रवालले कानूनविपरित नाफा आर्जन गरेको र उनले अन्य टीएमएस युजरको प्रयोग गरी आपसी खरिद बिक्री तथा आफन्त सम्बद्ध संस्थाबीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गरेको पाइएको छ।
यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य कृत्रिम रूपमा बढाएको देखिएको अनुसन्धानले देखाएको छ।
ऐनको दफा १४ (क),(ख) र दफा ९५ बमोजिम झुठो कारोबार मूल्य प्रभावित गर्ने कसूर गरेको धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा पक्राउ गरेको श्रेष्ठले बताए।
उनीमाथि धितोपत्रसम्बन्धी ऐन, २०६४ को दफा ९७ (ग) बमोजिम झुक्क्याउने विवरण दिएर भ्रामक सूचना सार्वजनिक गरेको आरोप सीआईबीले लगाएको छ।
उनलाई पक्राउ गर्न शुक्रबार काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमती प्राप्त गरेको सीआईबीले जानकारी दिएको छ।
यसअघि पनि उनी सेयर कारोबारको विषयलाई लिएर पक्राउ परेका थिए।


