काठमाडौं। सुदुरपश्चिमको धनगढीमा पहिलो पाँचतारे होटल सञ्चालन हुने भएको छ। होटल क्लव चौलानीले निर्माण गरिरहेको छ। बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा क्लब चौलानी लिमिटेड र होलिडे ईन बाई आईएचजीबीच होटल व्यवस्थापनसम्बन्धी सम्झौता भएको हो।
सम्झौतामा क्लब चौलानीका अध्यक्ष डा. राजेन्द्र केसी र आईएचजी होटल्स एण्ड रिसोर्टका दक्षिण एशियाका प्रबन्ध निर्देशक सुदीप जैनले हस्ताक्षर गरेका छन्।
यसअघि क्लव चौलानीले होटलको व्यवस्थापनको जिम्मा भारतको प्रसिद्ध चेन लेमन ट्रि होटल्स लिमिटेडलाई दिएको थियो। त्यसबेला क्लव र लेमनबीच हालै फ्रेन्चाइज लिने सम्झौता भएको थियो। क्बल चौलानी ‘लेमन ट्रि होटल’ ब्राण्डमा सञ्चालन हुने भनिएको थियो। अहिले व्यवस्थापक परिवर्तन भएको छ।
होटल आगामी २०८४ सालको सुरुबाट सञ्चालनमा ल्याउने सञ्चालक सीए दीपक पाण्डेले जानकारी दिए। उनका अनुसार होटल परियोजनाको लागत दुई अर्ब २० करोड रुपैयाँ रहेको छ। जसमा ६५ प्रतिशत बैंकको ऋण र बाँकी ३५ प्रतिशत संस्थापकको स्वपुँजी हुने गरी लगानी संरचना बनाइएको छ।
बैंकको ऋण लगानी एक अर्ब ४३ करोड र ७७ करोड प्रवद्र्धकहरूको स्वपूँजीमार्फत व्यवस्थापन गरिने पाण्डेले जानकारी दिए।
सोही कार्यक्रममा प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री प्रबन्धकमा गरिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको उनले बताए।
होटलमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार पाँच प्रिमियम सुइटसहित ११५ वटा आधुनिक अतिथि कक्ष रहनेछन्।
प्रमुख सुविधामा १८ हजार ५०० वर्गफुट क्षेत्रफलमा फैलिएको अत्याधुनिक क्यासिनो, ७०० जनासम्म अट्ने भव्य बैक्वेट हल, रुफटप स्विमिङ पुल, बहु–परिकार रेष्टुरेन्ट, पूर्ण रूपमा सुसज्जित आधुनिक फिटनेस सेन्टर, विभिन्न बैठक तथा सम्मेलन कक्षहरू तथा विशेष निजी डाइनिङ सुविधा समावेश रहनेछन्।
धनगढी प्राकृतिक सौन्दर्य, धार्मिक–सांस्कृतिक सम्पदा, जैविक विविधता र आतिथ्यताले सम्पन्न क्षेत्र हो। भारतको उत्तराखण्ड र उत्तर प्रदेशका प्रमुख सहरहरूसँग नजिक रहेको यो सीमावर्ती सहरले ठूलो संख्यामा भारतीय पर्यटकको आकर्षण गर्ने सम्भावना बोकेको छ। होटलमा भएको क्यासिनोले अझ बढी भारतीयलाई आकर्षित गर्नेछ।
धनगढी सुदूरपश्चिमका सात जिल्लाको प्रमुख केन्द्रको रूपमा विकसित हुँदै गएको छ। होटल महेन्द्रनगर नजिक तथा धनगढी विमानस्थलबाट आठ किलोमिटर दूरीमा छ।
होलिडे इन धनगढीले सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय आवास, व्यवसायिक पर्यटन र अन्तर्राष्ट्रिय ब्रान्डेड आतिथ्य सेवाको नयाँ युगको सुरुआतका रूपमा लिइएको छ। यसले स्थानीय रोजगारी सिर्जना गर्दै क्षेत्रीय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
क्लब चौलानी लिमिटेड सन् २०१८ मा स्थापना भएको हो।


