काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत वाणिज्य बैंकहरूले धमाधम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरिरहेका छन्। नेप्सेमा सूचिकृत १९ वाणिज्य बैंकमध्ये १३ ले लाभांश घोषणा गरिसकेका छन् भने पाँच बैंकले यो वर्ष शेयरधनीहरुलाई लाभांश नदिने भएका छन्। सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक भने नेप्सेमा सूचिकृत छैन।
एनआईसी एसिया बैंकले लाभांश घोषणा गर्न बाँकी छ। एनआईसी एसियाले पनि लाभांश नदिने सम्भावना छ।
नेप्सेमा सूचीकृत बैंकहरूमध्ये नबिल बैंक, एनएमबी बैंक, लक्ष्मी सनराइज बैंक, एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल एसबीआई बैंक, प्राइम कमर्सियल बैंक र सानिमा बैंकले लाभांश घोषणा गरिसकेका छन्।
तीमध्ये केही बैंकको लाभांश वार्षिक साधारण सभाबाट पारित भइसकेको छ भने केही बैंकको साधारणसभा हुन बाँकी छ। यस वर्ष बैंकहरूले बोनस शेयरभन्दा नगद लाभांशलाई प्राथमिकता दिएका छन्। अधिकांश बैंकले मिश्रित रूपमा बोनस र नगद लाभांश घोषणा गरेका छन् भने केही बैंकले पूर्ण रूपमा नगद लाभांश मात्र दिने निर्णय गरेका छन्।
कुन बैंकको कति?
एभरेष्ट बैंक
हालसम्म लाभांश घोषणा गर्ने बैंकहरूमध्ये एभरेष्ट बैंक सबैभन्दा बढी लाभांश दिने बैंक बनेको छ। बैंकले आर्थिक वर्ष २०८१/८२ को सञ्चित नाफाबाट शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गरेको छ। जसमा १४ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने करसमेत) र ६ प्रतिशत बोनस शेयर रहेको छ। उक्त लाभांश बैंकको वार्षिक साधारण सभाबाट पारित भइसकेको छ।
एनएमबी बैंक
एनएमबी बैंकले शेयरधनीलाई १० प्रतिशत लाभांश दिने निर्णय गरेको छ। बैंकको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत र आगामी साधारण सभाबाट पारित हुन बाँकी छ।
लक्ष्मी सनराइज बैंक
लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले लाभांश प्रस्ताव पारित गर्न पुस १४ गते वार्षिक साधारणसभा बोलाएको छ।
सिटिजन्स बैंक
सिटिजन्स बैंकले शेयरधनीलाई ५.२६ प्रतिशत लाभांश दिएको छ। बैंकले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गरेको हो। यो लाभांश बैंकको वार्षिक साधारण सभाबाट पारित भइसकेको छ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०८१÷८२ का लागि ८ प्रतिशत लाभांश दिएको छ। यो बैंक यस वर्ष सबैभन्दा पहिले लाभांश घोषणा गर्ने वाणिज्य बैंक बनेको हो। बैंकले ४ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको छ। लाभांश साधारण सभाबाट पारित भइसकेको छ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले शेयरधनीलाई १०.५३ प्रतिशत लाभांश दिएको छ। बैंकले ५ प्रतिशत बोनस शेयर र करसहित ५.५३ प्रतिशत नगद लाभांश वितरण गरेको हो। लाभांश पनि साधारण सभाबाट पारित भइसकेको छ।
सानिमा बैंक
सानिमा बैंकले शेयरधनीलाई ७.३६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गरेको छ। बैंकले यस वर्ष बोनस शेयर दिएन। लाभांश वार्षिक साधारण सभाबाट पारित भइसकेको छ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक
स्ट्यान्डर्ड चार्टर्ड बैंकले शेयरधनीलाई करसहित १९ प्रतिशत नगद लाभांश दिएको छ। यो प्रस्ताव पनि वार्षिक साधारण सभाबाट पारित भइसकेको छ।
ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गरेको छ। लाभांश पनि साधारण सभाबाट पारित भइसकेको छ।
कृषि विकास बैंक
कृषि विकास बैंकले शेयरधनीलाई कुल १३ प्रतिशत लाभांश दिएको छ। जसमा ३.२५ प्रतिशत बोनस शेयर र ९.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ। साथै, फिर्ता नहुने अग्राधिकार शेयरमा वार्षिक ६ प्रतिशत नगद लाभांश दिने निर्णय पनि गरिएको छ। यो प्रस्ताव साधारण सभाबाट पारित भइसकेको छ।
नबिल बैंक
नबिल बैंकले शेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्न बैंकले पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ।
नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारित गर्न यही पुस १८ गते वार्षिक साधारणसभा बोलाएको छ।
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ। यही पुस ३० मा हुने साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ।
यी हुन् लाभांश नदिने बैंकहरू
यस वर्ष कुमारी बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र नेपाल बैंकले शेयरधनीलाई लाभांश नदिने भएका छन्। कम्पनी ऐनअनुसार आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र सार्वजनिक कम्पनीहरूले वार्षिक साधारणसभा सम्पन्न गर्नुपर्ने व्यवस्था भएकाले बाँकी बैंकहरूले यही महिनाभित्र लाभांश घोषणा गर्ने अपेक्षा गरिएको छ।


