टोकियो,सिन्ह्वा। विश्वकै सबैभन्दा ठूलो अटोमोबाइल निर्माता टोयोटा मोटर कर्पोरेसनको नोभेम्बर महिनामा आफ्नो विश्वव्यापी उत्पादन ५.५ प्रतिशत घटेको छ। गत महिनामा बिक्री घटेर आठ लाख २१ हजार ७२३ इकाइमा सीमित भएको जानकारी दिएको छ।
यो गत छ महिनामा पहिलो पटक उत्पादनमा गिरावट आएको हो।
कम्पनीका अनुसार, विदेशमा उत्पादन ३.४ प्रतिशतले घटेर पाँच लाख ६३ हजार ५४६ सवारीसाधनमा झरेको छ भने जापानभित्रको उत्पादन ९.७ प्रतिशतले घटेर दुई लाख ५८ हजार १७७ इकाइमा आएको छ।
यद्यपि, अमेरिकामा भने हाइब्रिड सवारीसाधनप्रति उच्च मागका कारण उत्पादनमा वृद्धि देखिएको छ। अमेरिकामा उत्पादन ९ प्रतिशतले बढेर एक लाख ७ हजार ९५३ इकाइ पुगेको छ। जसमा उच्च भन्सार शुल्कको बाबजुद माग बलियो भएको टोयोटाले बताएको छ।
उत्पादनसँगै टोयोटाको विश्वव्यापी बिक्री पनि २.२ प्रतिशतले घटेर नौ लाख ११ इकाइमा सीमित भएको छ। यो पनि करिब ११ महिनामा पहिलोपटक बिक्रीमा देखिएको गिरावट हो।
बिक्री विवरणअनुसार, विदेशमा बिक्री २.६ प्रतिशत घटेर सात लाख ६९ हजार ७८९ रहेको छ, भने जापानमा बिक्री ०.२ प्रतिशत घटेर एक लाख ३० हजार २२२ इकाइमा आएको कम्पनीले जनाएको छ।
टोयोटाको उत्पादन र बिक्रीमा भएको यो कमीले आगामी महिनाहरुमा विश्व अटोमोबाइल बजारको माग तथा आपूर्ति कस्तो रहनेछ भन्ने विषयमा ध्यानाकर्षण बढाएको छ।


