‘मन्त्रिपरिषद्मा करिबन् १० देखि ११ भन्दा राख्दैनौँ। छोटो मीठो राख्छौँ। २५ वटा जति होला मन्त्रालय डबल डबल… क–कसमा के क्षमता छ, त्यो क्षमता हेरेर गर्ने हाम्रो विचार छ।’
अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गरेको तेस्रो दिन, २०८२ भदौ ३१ गते मंगलबार बीबीसी नेपाली सेवालाई अन्तर्वार्ता दिँदै सरकार गठनबारे सुशीला कार्कीले बताएकी थिइन्। मन्त्रिपरिषद् चयनका विषयमा उनले आफू निर्वाचन गराउने म्यान्डेटको प्रधानमन्त्री भएकाले गैरराजनीतिक व्यक्तित्वलाई मात्रै मन्त्रिपरिषद्मा राख्ने उनको भनाइ थियो।
तर सो प्रतिबद्धताभन्दा ठीक विपरीत प्रधानमन्त्री कार्कीले शुक्रबार १५औँ मन्त्रीका रूपमा बालानन्द शर्मालाई परराष्ट्रमन्त्री नियुक्त गरेकी छन्।
यसअघि अन्य मन्त्रालयको जिम्मेवारी सुम्पिँदै गएकी प्रधानमन्त्री कार्कीले परराष्ट्र र रक्षा मन्त्रालय आफैँसँग राखेकी थिइन्। परराष्ट्र नीति कमजोर हुन नदिन परराष्ट्र नीति जानेको व्यक्तिलाई मन्त्रालयको जिम्मेवारी सुम्पिनुपर्ने आवाज उठे पनि तदारुकता नदेखाएकी उनले सरकार गठनको करिब साढे तीन महिनापछि उक्त जिम्मेवारी पूर्वरथी शर्मालाई सुम्पिएकी छन्।
भदौ २३ र २४ को जेन–जीआन्दोलनको बलमा भदौ २७ गते राति उनी प्रधानमन्त्री नियुक्ति भएकी थिइन्। भदौ २९ गते पदभार ग्रहण गरेकी उनले भदौ ३० गते प्रथम पटक चार सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी थिइन्। उनले रामेश्वर खनाललाई अर्थ मन्त्रालय, ओमप्रकाश अर्याललाई गृह मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सुम्पिएकी थिइन्।
त्यसपछि असोज ६ गते दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरियो। अर्यालसँग रहेको कानुनमन्त्रालयसहित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा उद्योग वाणिज्य तथा आपूर्तिको जिम्मेवारी पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई सुम्पिइन्। मदन परियार कृषि तथा पशुपंक्षी विकास, महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि र जगदीश खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइन्।
कात्तिक ९ गते पुन: उनले मन्त्रिपरिषद् विस्तार गरिन्। त्यसदिन सुधा गौतम स्वास्थ्य तथा जनसंख्या तथा बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्री नियुक्त भए। उनले बाचाअनुसार त्यसपछि बढीमा एक जना मन्त्री मात्रै थप्ने अनुमान धेरैको थियो।
तर मंसिर २६ गते उनले चौथोपटक मन्त्रिपरिषद् विस्तार गरिन्। एकैदिन थप चार मन्त्री थपेर उनले १४ सदस्यीय मन्त्रिपरिषद् बनाइन्। मंसिर २६ गते राजेन्द्रसिंह भण्डारीलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कुमार इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र माधवप्रसाद चौलागाईलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइन्।
आफ्नो बाचा बिर्सिएर उनले शुक्रबार पाँचौँपटक मन्त्रिपरिषद् विस्तार गरेर मन्त्रिपरिषद् १५ सदस्यीय बनाएकी छन्। आगामी फागुन २१ गते निर्वाचन मिति तोकिएकोमा निर्वाचन आउन अब ६९ दिन मात्रै बाँकी रहेको छ।


