काठमाडौँ: विशेष अदालत काठमाडौँले पूर्व सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। बुधबार विशेषका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउन आदेश गरेको हो।
गुप्ताले कास्कीको मालपोत कार्यालयका तत्कालिन प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्न ५३ लाख रुपैयाँ र भूमि आयोग कास्कीको अध्यक्षमा खेमबहादुर पुनलाई नियुक्त गरिदिन बिचौलियासँग २५ लाख घुसको डिल गरेको दुईवटा अडियो सार्वजनिक भएको थियो।
गुप्ताले अधिकारीलाई सरुवा थमौती गराइदिने तथा पुनलाई भूमि आयोग कास्कीको अध्यक्ष नियुक्त गराइदिने भनी घरजग्गा व्यवसायीसँग घुस लिएको भन्दै अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको थियो। उजुरीसाथ पेस भएको अडियो र भिडियोमा गुप्ता र अन्य प्रतिवादीहरू पूर्वमन्त्री रञ्जिता श्रेष्ठ र र सुजनकुमार तामाङ समेतका बीचमा भएको फोन संवादका आधारमा गुप्ताले घुस बार्गेनिङ गरेको भेटिएको पूर्णपाठमा भनिएको छ।
सुरज शाह ठकुरी र यमकुमारी गुरुङसमेतबीच २०८१ जेठ २० गते भएको करारपछि यामकुमारी गुरुङको नाममा रहेको बैंक खातामा प्रतिवादी तुल्सीराम बुढामगरले रकम जम्मा गरेको र रकम झिकेको भन्ने गरिमा विकास बैंकको स्टेटमेन्ट विवरण, प्रतिवादीहरुबीचको फोन सम्पर्कको डिटेल विवरण, गुप्तालाई सहप्रतिवादीहरू रामचन्द्र अधिकारी, रञ्जिता श्रेष्ठ र सुजन कुमार तामाङले पठाएको एसएमएस विवरण, प्रतिवादी अधिकारीको सरकारी निवासमा रकम गणना गरिएको र गाडीमा राखिएको बेलामा खिचेको फोटोहरू भनी उजुरीसाथ पेश भएका फोटाहरु समेतका तत्काल प्राप्त प्रमाणहरू मिसिल संलग्न रहेको देखिएकोमा गुप्ता दोषी होइनन् भन्ने अवस्था नदेखिएको अदालतको ठहर छ।
थप प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा हाललाई तत्काल प्राप्त मिसिल सम्लग्न प्रमाणहरूको आधारमा निज प्रतिवादी गुप्तालाई प्रस्तुत मुद्दाको पूर्पक्षका लागि थुनुवा पूर्जी दिई थुनामा राख्न आदेशमा भनिएको छ।


