काठमाडौँ: स्वदेशी औषधि उत्पादनमा अग्रणी देउराली जनता फर्मास्युटिकल्स प्रालिले आफ्नो व्यावसायिक साखलाई थप उचाइमा पुर्याएको छ। आर्थिक मन्दी र बजारको उतारचढावका बीच पनि कम्पनीले अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतको लोभलाग्दो व्यापार वृद्धि गरेको छ।
एक वर्षमा देउराली जनताले दुई अर्ब ३५ करोड रुपैयाँको औषधि व्यापार गरेको छ। अघिल्लो वर्ष उद्योगले दुई अर्ब दुई करोड ३० लाख रुपैयाँ व्यापार गरेको थियो। एक वर्षमा देउराली जनताको व्यापार ३२ करोड ७० लाख रुपैयाँ बढेको रेटिङका लागि सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ।
देउराली जनताले सन् २०२३ मा एक अर्ब ८६ करोड ४० लाख, २०२२ मा एक अर्ब ७० करोड ५० लाख र २०२१ मा एक अर्ब ४६ करोड ६९ लाख रुपैयाँ व्यापार गरेको जनाएको छ। देउराली जनताको औषधि उत्पादन तथा व्यापार बढ्दै गएको देखिएको छ। उद्योगको देशभर २०० वितरक रहेका छन्। १० वितरकको आम्दानीमा १८ प्रतिशत योगदान रहेको छ।
उद्योगले औषधि उत्पादका लागि आवश्यक कच्चावस्तु विदेशबाट आयात गर्दै आएको छ। यो वर्ष सन् २०२६ मा नेपालको अतिकम विकशितबाट विकासशील मुलुकमा स्तरोन्नतिपछि घरेलु औषधि कम्पनीहरूले पेटेन्ट गरिएका औषधिहरू उत्पादन गर्न रोयल्टी तिर्नुपर्ने हुन सक्छ। जसले गर्दा जेनेरिक औषधिहरूको लागि हालको रोयल्टी मुक्त व्यवस्था समाप्त हुन्छ। यसले उत्पादन लागत बढाउने, मार्जिन मध्यम गर्ने र कम्पनीको वित्तीय प्रोफाइललाई असर गर्ने सम्भावना छ।
सन् १९९१ मा स्थापित देउराली जनता फार्मास्युटिकल्स औषधि उत्पादनको व्यवसायमा सबैभन्दा पुरानो र स्थापित उद्योग मध्ये एक हो। यसले हृदय रोग, मधुमेह, स्त्री रोग र बाल हेरचाह, ग्यास्ट्रोलोजिक र हेपाटोलोजी, छाला रोग आदिको लागि सामान्य र विशेष औषधिहरूको विस्तृत श्रृंखला उत्पादन गर्दछ। उद्योगले हाल धेरै वर्गहरूमा २५० भन्दा बढी औषधि उत्पादन गर्दछ। उद्योगका अध्यक्ष तथा कार्यकारी निर्देशक हरिभक्त शर्मा हुन्। अध्यक्ष शर्माको देउराली जनतामा ७१ प्रतिशत स्वामित्व रहेको छ। बाँकी २९ प्रतिशत परिवारका सदस्यलगायतको छ।
उद्योगले एक अर्ब ६ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ।


