काठमाडौँ: पछिल्लो समय नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत जलविद्युत कम्पनीहरूको वार्षिक साधारण सभा (एजीएम) मा गणपूरक संख्या (कोरम) नपुग्दा स्थगित हुने क्रम बढ्दै गएको छ। विशेषगरी जलविद्युत कम्पनीहरूको लकइन अवधि खुलेपछि यस्तो समस्या देखिन थालेको व्यवसायीहरूको भनाइ छ। आयोजना सञ्चालनमा आएको तीन वर्षपछि लकइन पिरियड खुलेसँगै सबै शेयर साधारण शेयरमा परिणत हुने गरेको छ।
संस्थापक शेयरधनीहरूले शेयर बिक्री गरेर बाहिरिनु, एकैदिन धेरै कम्पनीको साधारणसभा पर्नु, साना शेयरधनीको संख्या अत्यधिक हुनु तथा एजेन्डा खासै आकर्षक नहुनुजस्ता कारणले शेयरधनीको उपस्थिति कमजोर हुँदै गएको देखिन्छ।
यो समस्या नयाँ नभइ पछिल्ला केही वर्षदेखि निरन्तर देखिँदै आएको हो। गत वर्ष पनि धेरै कम्पनीहरूले गणपूरक संख्या नपुग्दा एजीएम स्थगित गरेका थिए। यही क्रम यस वर्ष पनि दोहोरिएको छ। त्यसै क्रममा दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आज पुस २१ गतेका लागि बोलाएको वार्षिक साधारणसभा गणपूरक संख्या नपुगेकाले स्थगित गरेको छ।
कम्पनीले सार्वजनिक गरेको सूचनामा कम्पनी ऐन २०६३ तथा कम्पनीको नियमावली बमोजिम आवश्यक शेयरधनी उपस्थिति नपुगेकाले सभाको कामकारबाही अघि बढाउन नसकिएको उल्लेख गरिएको छ। सूचनामा भनिएको छ, ‘पुस २१, २०८२ मा हुने भनी बोलाइएको यस कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारणसभा कम्पनी ऐन २०६३ तथा यस कम्पनीको नियमावली बमोजिमको गणपूरक संख्या नपुगेको हुनाले सभाको कामकारबाही अघि बढाउन नसकिएको हुँदा उक्त साधारण सभा स्थगित गरिएको जानकारी गराइन्छ।’
उक्त साधारण सभामा कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने, अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने, साथै कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पेस गर्ने तयारी गरेको थियो। साथै, नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन आएमा सोहीअनुसार कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि एजेन्डामा समावेश थियो।
यस विषयमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले एकैदिन धेरै कम्पनीको साधारणसभा पर्नु र साना शेयरधनीको बाहुल्य मुख्य कारण जलविद्युत कम्पनीहरूको एजीएममा शेयरधनीको उपस्थिति न्यून भएको बताए। ‘यदि एजेन्डा एकदमै ठूला र शेयरधनीको प्रत्यक्ष हितसँग जोडिएका भए उपस्थिति बढ्थ्यो। अहिले धेरैजसो कम्पनीमा साना शेयरधनीको संख्या अत्यधिक छ। त्यसमाथि एकैदिन धेरै कम्पनीको एजीएम पर्नुले लगानीकर्ताको उपस्थिति कमजोर भएको हो,’ उनले नेपाल क्लिक्ससँग भने।
त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडका अध्यक्ष कुमार पाण्डेले लकइन अवधि खुलेपछि हाइड्रो क्षेत्रमा यस्तो परिस्थिति देखिने गरेको बताए। ‘लकइन अवधिसम्म ठूला संस्थापक शेयरधनी हुन्छन्, उनीहरूको उपस्थिति हुन्छ र साधारण सभा सजिलै सम्पन्न हुन्छ। तर लकइन अवधि खुलेपछि ठूला शेयरधनीले शेयर बेचेर बाहिरिन्छन्। एउटा ठूला शेयरधनीको शेयर हजारौँ साना शेयरधनीमा बाँडिन्छ। त्यसपछि आवश्यक कोरम पु¥याउन हजारौँ शेयरधनी उपस्थित हुनुपर्ने अवस्था आउँछ, जुन व्यवहारिक रूपमा सम्भव हुँदैन,’ उनले भने। गत वर्ष नेशनलले कोरम नपुगेपछि दुई पटक एजिएम स्थगन गरेको थियो। कम्पनीले यो वर्ष एजीएमको मिति सार्वजनिक गरेको छैन्।
कम्पनी ऐन २०६३ अनुसार वार्षिक साधारणसभा गर्न बोलाइएको सभामा कम्तीमा ५१ प्रतिशत शेयर प्रतिनिधित्व हुनुपर्छ। उक्त गणपूरक संख्या नपुगेमा सभा स्थगित हुन्छ र कम्तीमा सात दिनको सूचना दिएर पुनः सभा बोलाउनुपर्ने व्यवस्था छ। स्थगित सभामा भने कम्तीमा २५ प्रतिशत शेयर प्रतिनिधित्व हुने गरी शेयरधनी स्वयं वा प्रतिनिधिमार्फत् उपस्थित भएमा सभा गर्न सकिने कानुनी व्यवस्था छ। पछिल्लो समय यही प्रावधानका कारण धेरै जलविद्युत कम्पनीका एजीएम स्थगित हुने क्रम बढ्दै गएको छ।


