काठमाडौं। नेपालको प्रतिष्ठित भलिबल प्रतियोगिता “द टाइगर कप”को छैठौ संस्करणमा “खल्ती”ले टिकटिङ पार्ट्नरको रुपमा साझेदारी गरेको छ।
यस वर्ष माघ ९ गतेदेखि माघ १७ गतेसम्म पोखरा रङशालामा हुन गइरहेको यस प्रतियोगिता ‘टाइगर ग्रुप अफ पोखरा’ले आयोजित गर्दै आएको छ। सात वटा पुरुष र सात वटा महिला गरी यस वर्ष १४ वटा टोलीहरु यस प्रतियोगितामा सहभागी हुँदैछ। जस मध्ये ४ अन्तर्राष्ट्रिय टोलीको सहभागिता रहने भएको छ।
प्रतियोगिताको टिकटको मूल्य ३०० देखि ५०० रुपैयाँसम्म छ।
दर्शकहरुले हरेक खेलको टिकट खल्ती एपबाट सजिलै काट्न सक्नेछन् र प्रत्यक्ष खेल र खेलाडीको उत्साहको मजा लिन सक्नेछन्। राष्ट्रियस्तर मै सबैभन्दा ठुलो भलीबल प्रतियोगिता भएको कारण यस कपले अघिल्ला संस्करणहरुबाट देशभरीका दर्शक तथा प्रशंसकहरूको ध्यानाकर्षण गर्न सफल भइसकेको छ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण रेग्मीले खुसी व्यक्त गर्दै भने, “खल्ती र टाइगर कपको यस नयाँ साझेदारी भलिबल तथा सम्पूर्ण खेलकुद प्रेमीहरूका लागि पक्कै पनि उत्साहको विषय हो।
डिजिटल टिकटिङको क्षेत्रमा अग्रणी स्थान बनाएको खल्ती र द टाइगर कपको यस साझेदारीले सबै फ्यानहरूको अनुभवलाई उत्कृष्ट बनाउने कुरामा हामी विश्वस्त छौँ। हामी आशा गर्दछौँ सबैले सहज ढङ्गले अनलाइन टिकट लिई खेलको भरपुर मज्जा लिनुहुनेछ।”


