काठमाडौँः नेपाल बीमा प्राधिकरणले आगामी माघ १ गतेदेखि बीमा क्षेत्रका सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्न निर्देशन दिएको छ। जीवन, निर्जीवन, लघुबीमा, पुनर्बीमा कम्पनी तथा बीमा दलालहरूलाई लागू हुने गरी यो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन जारी गरिएको हो।
बीमा क्षेत्रमा पारदर्शिता, वित्तीय अनुशासन र डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यले उक्त निर्देशन जारी गरिएको प्राधिकरणले जनाएको छ। निर्देशनअनुसार माघ १ पछि बीमा दाबी भुक्तानी, सेवा शुल्क, कमिसन, एजेन्ट तथा दलाल भुक्तानीलगायत सबै किसिमका रकम सम्बन्धित व्यक्ति वा संस्थाको बैंक खातामा अनिवार्य रूपमा विद्युतीय माध्यमबाट मात्र भुक्तानी गर्नुपर्नेछ। नगद वा अन्य गैर–डिजिटल माध्यमबाट गरिने भुक्तानी स्वीकार्य नहुने स्पष्ट गरिएको छ।
प्राधिकरणका अनुसार यो निर्देशन सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशन, २०८२ अनुसार जारी गरिएको हो। उक्त निर्देशनअनुसार बीमालेखअन्तर्गतको दाबी भुक्तानी गर्दा बीमालेखका शर्त तथा प्रचलित कानुनबमोजिम भुक्तानी पाउने व्यक्तिको बैंक वा वित्तीय संस्थामा रहेको खातामा रकम जम्मा गर्नुपर्ने व्यवस्था छ।
नेपाल सरकारले सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी डिजिटल बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने नीति कार्यान्वयनमा ल्याइसकेको सन्दर्भमा बीमा क्षेत्रलाई पनि सोही मापदण्डमा ल्याउन आवश्यक रहेको प्राधिकरणले जनाएको छ।
यसअघि नै प्राधिकरणले बीमा कम्पनीहरूलाई स्थायी, अस्थायी, करार, ज्यालादारी वा अन्य कुनै पनि प्रकारका कर्मचारी तथा श्रमिकलाई दिइने पारिश्रमिक र ज्याला अनिवार्य रूपमा बैंक खातामार्फत भुक्तानी गर्न निर्देशन दिएको थियो। नयाँ व्यवस्थाले बीमा क्षेत्रका सम्पूर्ण वित्तीय कारोबारलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने लक्ष्य लिएको देखिन्छ।


