काठमाडौँ: निजी क्षेत्रको केटीएम हस्पिटालिटीले चितवनको सौराहमा निर्माण गरेको पहिलो पाँचतारे रोयल टुलिप लक्जरी रिसोर्टको महाप्रबन्धकमा कृष्णप्रसाद तिमिल्सिना नियुक्त भएका छन्। हस्पिटालिटी क्षेत्रमा ३ दशक लामो अन्तर्राष्ट्रिय अनुभव भएका तिमिल्सिनालाई कम्पनीले गत बिहीबारदेखि जिम्मेवारी सुम्पिएको हो।
महाप्रबन्धकमा नियुक्त तिमिल्सिनासँग नेपाल तथा चीनका विभिन्न अन्तर्राष्ट्रिय चेन होटल तथा रिसोर्टको नेतृत्वदायी भूमिकामा रहेर काम गरेको अनुभव रहेको छ।
केटीएम हस्पिटालिटीले एक अर्ब ७५ करोड रुपैयाँ लगानीमा निर्माण गरेको उक्त रिसोर्ट गएको असोजदेखि सञ्चालनमा आएको हो। रिसोर्टमा ६५ कोठा र चारवटा भिल्ला रहेका छन्। होटलले पिउने पानीका लागि आफ्नै बोटलिङ प्लान्ट सञ्चालन गरेको छ। उक्त प्लान्टबाट दैनिक पाँच सय बोटल पानी प्रशोधन हुने गरेको छ।
बेकरीको उत्पादन पनि रिसोर्ट आफैँले गर्दै आएको छ। होटल निर्माणका क्रममा आवश्यक ढुङ्गा रामेछाप र बागलुङलगायत जिल्लाबाट ल्याइएका हुन्। रिसोर्ट निर्माणका क्रममा फर्निचरदेखि अधिकांश वस्तु नेपाली उत्पादन प्रयोग गरिएको छ। हाल रिसोर्टमा ९४ जना कार्यरत रहेका छन्। ९० जना नेपाली रहेका छन्। तीमध्ये धेरै चितवनका छन्।
रिसोर्टले क्यासिनो सञ्चालनका लागि पनि आवश्यक पूर्वाधार बनाइरहेको छ।


