काठमाडौँ: बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने शेयर धितो कर्जा (मार्जिन प्रकृतिको कर्जा) एक वर्षमा ३८ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्षको मंसिर मसान्तसम्म यस्तो कर्जा १ खर्ब ७ अर्ब रुपैयाँ रहेकोमा यस वर्षको मंसिर मसान्तसम्म आइपुग्दा १ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ।
असार मसान्तको तुलनामा मंसिर मसान्तसम्म शेयर धितो कर्जा ५.७ प्रतिशतले मात्रै वृद्धि भएको देखिन्छ। असार मसान्तसम्म १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ शेयर धितो कर्जा प्रवाह भएको थियो।
मंसिर मसान्तसम्म १ करोड रुपैयाँभन्दा माथिको शेयर कर्जा १ खर्ब ३ अर्ब रुपैयाँ प्रवाह भएको छ।
त्यस्तै, सोही अवधिसम्म ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा १७ अर्ब ९० करोड, २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा १८ अर्ब २८ करोड तथा २५ लाख रुपैयाँभन्दा कमको कर्जा ८ अर्ब ७२ करोड रुपैयाँ प्रवाह भएको तथ्यांकले देखाउँछ।


