काठमाडौँ: ठूला उद्योगहरूको अवस्था खस्किँदै गएको सुस्त अर्थतन्त्रका बाबजुद लघु, साना तथा मझौला उद्योगहरूको औसत क्षमता उपयोग आधाभन्दा बढी रहेको छ। साना तथा मझौला उद्योगको औसत क्षमता उपयोग ५०.७ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ। जबकि, ठूला उद्योगहरूको औसत क्षमता उपयोग ४४ प्रतिशत मात्र छ।
साना तथा मझौला उद्योगको वार्षिक औसत सञ्चालन ११.४ महिना र दैनिक औसत सञ्चालन ११.३ घण्टा रहेको राष्ट्र बैंकले जनाएको छ। वार्षिक बिक्रीको मध्यक ४० लाख, चुक्ता पुँजी २५ लाख र कुल स्थिर पुँजी ५० लाख रुपैयाँ छ। लगानीमा औसत प्रतिफल ११.७ प्रतिशत रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ।
कुल ३९ प्रतिशत लघु, साना तथा मझौला उद्योगहरूले समग्र कर्जा वित्तको अवस्थालाई औसत मानेका छन्। ४४.६ प्रतिशतले यसलाई खराबदेखि अति खराब श्रेणीमा राखेका छन्। लगानीको प्रमुख वित्तीय स्रोतका रूपमा व्यक्तिगत बचत रहेको पाइएको छ भने दोस्रोमा बैंक तथा वित्तीय संस्थाबाट लिइने कर्जा रहेको छ।
यस्तै समग्र कर प्रणालीप्रति ४३.१ प्रतिशत उद्योगीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। ३६.२ प्रतिशतले यसलाई औसत मानेका छन्। ४७.६ प्रतिशत उद्योगहरूले समग्र बजार वातावरणलाई औसत मूल्यांकन गरेका छन्।४३.० प्रतिशतले यसलाई खराबदेखि अति खराब श्रेणीमा राखेका छन्। यसले बजारको अवस्थाप्रति सामान्य असन्तुष्टि रहेको संकेत गर्ने राष्ट्र बैंकले जनाएको छ।
प्रविधि अवलम्बनको सन्दर्भमा ४५.५ प्रतिशतले औसत र ३६.८ प्रतिशतले कमजोर अवस्था रहेको बताएका छन्। नेतृत्व क्षमताको मूल्यांकनमा ४९.७ प्रतिशत औसत र ३४.४ प्रतिशत खराबदेखि अति खराब श्रेणीमा राखेका छन्।
८२.१ प्रतिशत उद्योगीले सरकार र राष्ट्र बैंकका प्रोत्साहन र सहायता कार्यक्रमहरूको पर्याप्ततालाई खराबदेखि अति खराब श्रेणीमा राखेका छन। यसले विद्यमान प्रोत्साहन र सहायता कार्यक्रमको पर्याप्तता प्रति धेरैजसोमा असन्तुष्टि रहेको देखिन्छ।
कारोबारको आधारमा कार्यसम्पादन अवधारणा सर्वेक्षण ५२.७ प्रतिशत उद्योगहरूको कार्यसम्पादन स्थिति खस्कँदो,२३.७ प्रतिशत सामान्य र २९ प्रतिशत उच्च गिरावट देखिएको छ। २०.३ प्रतिशतको स्थिति स्थिर र २७.१ प्रतिशतको स्थिति सुधारोन्मुख रहेको छ।
नेपालको सन्दर्भमा साना तथा औद्योगिक प्रतिष्ठानहरूको वार्षिक ६२.२ प्रतिशत २९ खर्ब १५ अर्ब ६ करोड कूल बिक्री रहेको छ।
डिजिटलाइजेशन, प्रक्रियागत सरलीकरण र गुणस्तरीय नियमनमार्फत व्यावसायिक वातावरण सुधार, सरकार तथा राष्ट्र बैंकले वित्तीय र मौद्रिक प्रणालीमा स्थिरता एवं दिगोपना कायम गर्न विशेष ध्यान दिनुपर्ने अध्ययनले सुझाएको छ।
राजनीतिक स्थिरता उद्योगहरूको असल कार्यसम्पादन लागि अपरिहार्य रहेको छ। सडक तथा सूचना प्रविधिको पूर्वाधार सुधार गर्दै सरकार र राष्ट्र बैंकका पहलहरूबारे थप जनचेतना फैलाउनुपर्ने देखिएको अध्ययनको निश्कर्ष रहेको छ।
वित्तीय पहुँच बढाउन नवीन वित्तीय सेवाहरूको डिजाइन र उपभोक्ता संरक्षण थप सबल बनाउदै लानु पर्ने अध्ययनले सुझाएको छ।
राष्ट्र बैंक वीरगञ्ज कार्यालयले विशेष अध्ययन कार्यक्रमअन्तर्गत चितवन र मकवानपुर जिल्लाका ३२१ उद्योगहरूबाट तथ्यांक संकलन गरेको जनाएको छ। बहु–चरणीय स्तरीकृत नमूना छनोट विधिमार्फत छानिएका ती उद्योगहरूबाट प्रत्यक्ष अन्तर्वार्ताका माध्यमबाट प्रश्नावली भराई तथ्यांक संकलन गरिएको थियो।


