काठमाडौंं। नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ। बुधबार सुनको मूल्य प्रतितोला १० हजार ४०० रुपैयाँ बढेको छ। अब सुन तोलाको दुई लाख ९५ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार सुन प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँ थियो।
यसैगरी चाँदीको मूल्यमा तोलामा ४० रुपैयाँ बढेर पाँच हजार ९२० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ। मंगलबार चाँदीको मूल्य पाँच हजार ८८० रुपैयाँमा कारोबार भएको थियो।
अमेरिकाले यरोपेली मुलुक डेनमार्कको अधिनमा रहेको ग्रिनल्याण्ड टापुलाई जसरी भए पनि कब्जामा लिन नीति लिएपछि अहिले विश्व बजारमा सुनको भाउ उकालो लागेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्रिनल्याण्ड कब्जा गर्ने नीतिले लगानीकर्ताले सुरक्षित भविष्य देखेर सुनमा लगाउन बढाउँदै भाउ आकासिएको उनको भनाई छ। उनका अनुसार अब केही दिनमै सुनको भाउ प्रतितोला तीन लाख रुपैयाँ पुग्ने उनले बताए।
अमेरिकाले ग्रिनल्यण्ड कब्जा जमाउने भनेपछि युरोपेली मुलुकहरुले विरोध गरिरहेका छन्। विरोध गर्ने मुलुकलाई थप भन्सार शुल्क लगाउने चेतावनी ट्रम्पले दिएका छन्।
यही अस्थिरताले गर्दा सुन मात्र हैन अमेरिकी डलरको भाउ पनि उच्च विन्दुमा पुगेको छ। दक्षिण अमेरिकी मुलुक भेनेजुयलामाथि अमेरिकाले कब्जा जमाएपछि बढाएपछि सुनको भाउ उकालो लागेकोमा ग्रिनल्याण्डले थप जटिल बनाएको छ।
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस चार हजार आठ सय ६३ डलर पुगेको छ।


