काठमाडौँ: अर्थमन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचन व्यवस्थापनका लागि रकम निकासा गरेको छ। मन्त्रालयले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोग, गृह मन्त्रालय, रक्षा मन्त्रालय तथा अन्तर्गतका सुरक्षा निकायहरूमा आवश्यक खर्च व्यवस्था गर्न १९ अर्ब २१ करोड रुपैयाँ निकासा गरेको हो।
निर्वाचनमा २७ अर्बभन्दा बढी खर्च हुने अनुमान गरिएको छ। निर्वाचनको तयारीका गृह र रक्षाले सुरक्षा तयारीका लागि २० अर्ब रुपैयाँको प्रस्ताव अर्थमन्त्रालय समक्ष पेस गरेका थिए। जसमध्ये हालसम्म गृह मन्त्रालयलाई १० अर्ब ३९ करोड, रक्षा मन्त्रालयलाई १ अर्ब ९९ करोड र निर्वाचन आयोगलाई ६ अर्ब ७२ करोड रुपैयाँ निकासा गरिएको अर्थका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए।
दुई मन्त्रालय मातहत रहेका नेपाल प्रहरीका लागि ४ अर्ब २ करोड, नेपाली सेनाका लागि ३ अर्ब ४४ करोड, सशस्त्र प्रहरी बलका लगि ३ अर्ब ३३ करोड, ७७ जिल्ला प्रशासन कार्यालयका लागि ३१ करोड ४६ लाख र राष्ट्रिय अनुसन्धान विभागलाई ६ करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
निर्वाचनमा १ लाख ४७ हजार म्यादी प्रहरी खटाइँदैछ। सरकारले आगामी निर्वाचनका लागि पुस २४ देखि माघ १ गतेसम्म आवेदन खुलाएकोमा एक लाख ७२ हजारले आवेदन दिएका थिए। ४० दिनका लागि खटिने एक लाख ४७ हजार म्यादी प्रहरीको तलब, पोशाक, राशन र खाजा भत्ता तथा यातायात खर्चलगायतमा ९ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरिएको छ।


