काठमाडौँ: पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधव नेपाल जोडिएको पतञ्जली जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले मिसिल मगाएको छ। बुधबार विशेषका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र श्री हेमन्त रावलको संयुक्त इजलासले थप प्रमाणका लागि मिसिल झिकाउने आदेश गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २३ गते नेपालसहित ९३ जनाविरुद्ध पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा प्रकरणमा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।
तत्कालिन प्रधानमन्त्री नेपालले बदनियतपूर्वक मन्त्रिपरिषद्बाट आफू र पतञ्जलीलाई फाइदा पुग्नेगरी जग्गा सट्टापट्टाको स्वीकृति दिलाएको दाबी अख्तियारले अभियोगपत्रमा लिएको छ। तत्कालिन प्रधानमन्त्रीको हैसियतमा नेपालले पदको दुरुपयोग गरी सरकारी सार्वजनिक सम्पत्ति व्यक्तिगत र संस्थागत स्वार्थमा हस्तान्तरण गराएको तथा भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आरोप रहेको छ।


