काठमाडौँ: अर्थमन्त्री डा. प्रकाशशरण महतले मूल्य अभिवृद्धि कर (भ्याट)का विषयमा आफ्ना सहोदर दाजुसमेत रहेका पूर्वअर्थमन्त्री डा रामशरण महतलाई सम्झिएका छन्। भ्याट लगाउने विषयमा ऐतिहासिक निर्णय लिएको भन्दै डा रामशरणलाई डा प्रकाशरणले सम्झिएका हुन्।
‘मेरै दाइ डा रामशरण महतले भ्याट लगाउँदा नेपालमा ठूलो विरोध भयो,’ उनले भने, ‘दक्षिण एसियामा नै पहिलो पटक भ्याट लगाइएको थियो। तर यो वैज्ञानिक कर हो भनेर उहाँ अडिग हुनु भयो। पछि भारतलगायतका देशले पनि यस्तो कर लगाउन थाले।’
भारतले हाल वस्तु तथा सेवा कर (जीएसटी) लगाइरहेको छ। शून्य प्रतिशत देखि २८ प्रतिशतसम्म जीएसटी लगाउन थालिएको छ। नेपालमा भने १३ प्रतिशत भ्याट लाग्दै आएको छ। सरकारले तोकेका केही वस्तु तथा सेवामा भने शून्य प्रतिशत भ्याट लगाउने गरिएको छ।
अर्थमन्त्री डा महतले धेरै वस्तु तथा सेवामा भ्याट छुट दिँदा भ्याटको मुख्य मूल्य नै कमजोर हुन थालेको भन्दै आफ्ना दाइले ल्याएको भ्याट नीतिलाई सहयोग पुग्ने गरी भ्याट छुटका केही व्यवस्था खारेज गरिएको उल्लेख गरे।
यस्तै अर्थमन्त्रीले आगामी आर्थिक वर्षमा पुँजीगत खर्च प्रभावकारी बनाउन सरकारले कार्यतालिका बनाएको बताए। अर्थमन्त्री महतले आ.व. २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले पुँजीगत खर्च बढाउन कार्यतालिका सहित प्रभावकारी कार्यान्वयनको मोडालिटी बनाएको बताए।


