काठमाडौँ: पछिल्लो समय सुनको मूल्यले दिन प्रतिदिन नयाँ नयाँ रेकर्ड बनाउँदै गएको छ। बुधबार मात्रै नेपाली बजारमा सुनको मूल्य तोलामा १० हजार ४०० रुपैयाँले वृद्धि भयो। प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँमा बुधबार किनबेच भएको सुनको मूल्य हालसम्मकै उच्च हो।
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस चार हजार ८६३ डलर रहेको थियो।
सुनको मूल्य दिनदिनै बढ्दै जाँदा बजार प्रभावित भएको छ। भाउ अस्वाभाविक रूपमा बढेपछि गरगहनाको माग खुम्चिएको छ, जसको असर बैंकहरूले आयात गरेको सुनको बिक्रीमा परेको छ। माग घटेसँगै व्यवसायीहरूले बैंकबाट सुन खरिद गर्न चासो देखाउन छाडेका छन्।
नेपाल बैंकर्स संघका अनुसार हाल वाणिज्य बैंकहरूसँग करिब १४३ किलो सुन बिक्री हुन नसकी स्टकमा थन्किएको छ। पुसको अन्तिम साता कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले संयुक्त रूपमा १५० किलो सुन आयात गरेका थिए। तर, तीमध्ये अहिलेसम्म ७ किलो मात्र बिक्री भएको संघले जनाएको छ।
संघका एक अधिकारीका अनुसार मूल्य बढेसँगै आयात गरिएको सुन बजारमा अड्किएको अवस्था छ। ‘भाउ असह्य भएपछि व्यवसायीले सुन उठाउन छाडेका छन्, यही कारण आयात कोटाअनुसार सुन भित्रिन सकेको छैन,’ उनले बताए।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार हाल बैंकहरूले दैनिक २५ किलोसम्म सुन आयात गर्न पाउने व्यवस्था छ। राष्ट्र बैंकले गत असोज २४ गते सुन आयातको सीमा बढाउँदै अघिल्लो २० किलोको कोटालाई २५ किलो पुर्याएको थियो। यसअनुसार मासिक रूपमा ७५० किलोसम्म सुन आयात गर्न सकिने व्यवस्था छ। तर बजारमा माग नहुँदा वास्तविक आयात भने यसभन्दा निकै कम मात्रामा सीमित छ।
भन्सार विभागको तथ्यांकले पनि यही पुष्टि गर्छ। चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा बैंकहरूले १ हजार ५२ किलो सुन आयात गरेका छन्। जसमा पछिल्ला दुई महिनायताको आयात भने निकै कम छ। मंसिरमा एक किलो पनि सुन आयात नभएकोमा पुसमा पुसमा ५८ किलो सुन आयात भएको तथ्यांकमा देखिन्छ।


