काठमाडौँ: निजी लगानीमा सञ्चालित हस्पिटल फर एडभान्स मेडिसिन एन्ड सर्जरी (ह्याम्स) लिमिटेड प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रियाबाट पछि हटेको छ। नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रिमियममा आईपीओ जारी गर्न अनुमति नदिने भएपछि ह्याम्सले अंकित मूल्य प्रतिकित्ता एक सय रुपैयाँमा आईपीओ ल्याउन लागेको हो।
ह्याम्सले यसअघि प्रतिकित्ता २८८ रुपैयाँ (१८८ रुपैयाँ प्रिमियम थपेर) मा ११ लाख २५ हजार कित्ता आईपीओ निष्काशन गर्न २०८० पुस २६ गते बोर्डमा आवेदन दिएको थियो। प्रिमियम मूल्यबाट ३२ करोड ४० लाख रुपैयाँ लगानी जुटाउने योजना भए पनि बोर्डको स्वीकृतिको अभावमा मूल्य परिवर्तन गरी चुक्ता पुँजीको २० प्रतिशत अर्थात २४ लाख कित्ता सेयर जारी गर्ने नयाँ प्रस्ताव गरिएको छ। आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
ह्याम्सले दुई अर्ब रुपैयाँ लगानीमा भक्तपुरको नयाँ थिमिस्थित गठ्ठाघरमा हेलिप्याडसहितको दोस्रो अस्पताल बनाइरहेको छ।
यसका लागि बैंकबाट एक अर्ब ४० करोड ऋण लिने र सेयरधनीबाट ६० करोड रुपैयाँ स्वपुँजी लगानी गर्ने योजना छ। दुई चरणमा १००/१०० बेड थप्ने तयारी गरिरहेको हस्पिटलले गठ्ठाघरमा सञ्चालनमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटलको स्वामित्व समेत १० करोड रुपैयाँमा खरिद गरिसकेको छ।
नागरिकको कुल २२ लाख ७३ हजार कित्ता सेयरमध्ये ह्याम्सले ९ लाख ९१ हजार कित्ता खरिद गरेको हो।
डेढ वर्षअघि नागरिकको जिम्मेवारी लिएपछि त्यहाँको सेवा सुधार र उपकरण खरिदमा २० करोड बढी लगानी भइसकेको छ। नागरिकसँग हाल १२ रोपनी जग्गा, तीन तलाको कलेज भवन र नर्सिङ तथा एचएका शैक्षिक कार्यक्रमहरू छन्। यस्तै, मण्डिखाटारमा सञ्चालित ह्याम्सको क्षमता विस्तारका लागि ५० बेड थप्ने काम सुरु भएको छ, जसमा भवन निर्माणमा ३० करोड र उपकरण खरिदमा २० करोड रुपैयाँ खर्च हुनेछ।
