काठमाडौँ: माछापुच्छ्रे बैंक लिमिटेडले विश्वप्रसिद्ध फुड चेन कम्पनी केएफसीमा ईआरपी इन्टिग्रेटेड पीओएस सेवा सुरु गरेको छ। डिजिटल बैंकिङ कारोबारलाई प्रवद्र्धन गर्ने र ग्राहकलाई थप सहज सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले केएफसी तथा प्रविधि कम्पनी सिटीटेकसँग सहकार्य गरेको हो।
नेपालमै पहिलो पटक हस्पिटालिटी उद्योगलाई लक्षित गरी गरिएको यस सहकार्यअन्तर्गत केएफसीका विभिन्न आउटलेटहरूमा माछापुच्छ्रे बैंकका अत्याधुनिक पीओएस उपकरणहरू जडान गरिएको बैंकले जनाएको छ। यी उपकरणमार्फत ग्राहकहरूले कार्ड तथा क्युआर स्क्यान प्रयोग गरी छिटो, सुरक्षित र सहज रूपमा भुक्तानी गर्न सक्नेछन्।
बैंकका अनुसार उक्त प्रविधिले ग्राहक र व्यापारी दुवैका लागि भुक्तानी प्रक्रियालाई सरल, प्रभावकारी र पारदर्शी बनाउनेछ। सेवा समय घट्नुका साथै ग्राहक सन्तुष्टि बढाउन पनि यसले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
माछापुच्छ्रे बैंकले स्थापनाकालदेखि नै नवीनतम प्रविधिमा आधारित बैंकिङ सेवा तथा सुविधाहरू ग्राहकसमक्ष ल्याउँदै आएको र भविष्यमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिने जनाएको छ। हाल बैंकले देशभर हिमाल, पहाड र तराई समेट्दै पूर्वदेखि पश्चिमसम्म आफ्नो सेवा सञ्जाल विस्तार गरिसकेको छ।
बैंकका अनुसार हाल १६५ शाखा, ८८ शाखारहित बैंकिङ सेवा केन्द्र र ११ एक्सटेन्सन काउन्टरसहित कुल २७४ सेवा केन्द्र सञ्चालनमा छन्। साथै, १९९ एटीएममार्फत १८ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्दै आएको छ।


