काठमाडौँः एनएमबि बैंकले संस्थागत लगानीकर्ताहरूलाई ३ करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर बाँडफाँड गरेको छ। बैंकका अनुसार कुल मूल्य ३ अर्ब रुपैयाँ बराबरको सेयर सिद्धार्थ क्यापिटलमार्फत निष्कासन र बाँडफाँड गरिएको हो।
बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर सिर्फ संस्थागत लगानीकर्ताहरूमाझ परिपत्र विधिबाट आवेदन संकलन गरी बाँडफाँड गरेको जनाएको छ। यस प्रकारको सेयरमा निश्चित अवधि तोकिएको हुँदैन, तर लगानीकर्तालाई निश्चित प्रतिशतमा लाभांश प्राप्त हुने सुनिश्चितता हुन्छ। एनएमबि बैंकको यस सेयरमा ८.२५ प्रतिशत दरले लाभांश पाउने व्यवस्था गरिएको छ।
बैंकले यस सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट पुस ९ गते अनुमति प्राप्त गरेको थियो।


