काठमाडौँः समृद्धि फाइनान्स लिमिटेड र पोखरा फाइनान्स लिमिटेडबीच प्रस्तावित मर्जरलाई दुवै संस्थाको साधारणसभाले स्वीकृति दिएको छ। बुधबार सम्पन्न छुट्टाछुट्टै साधारणसभाबाट बराबरी (१ः१) सेयर अनुपातमा गाभिने प्रस्ताव पारित भएको हो।
यसअघि गत साउन महिनामा दुवै वित्तीय संस्थाले गाभ्ने÷गाभिने विषयमा समझदारीपत्रमा हस्ताक्षर गरेका थिए। सोही समझदारीअनुसार संयुक्त मर्जर समितिले तयार पारेको सेयर अनुपात तथा मर्जरसम्बन्धी प्रस्तावलाई साधारणसभाले अनुमोदन गरेको हो।
मर्जर प्रक्रियालाई अघि बढाउन दुवै संस्थाको सम्पत्ति, दायित्व र व्यवसायिक अवस्थाको मूल्यांकन गर्न मूल्यांकनकर्ता नियुक्त गरिएको थियो। मूल्यांकनकर्ताले तयार पारेको प्रतिवेदनको आधारमा संयुक्त मर्जर समितिले प्रस्ताव तयार गरी साधारणसभामा पेश गरेको थियो, जसलाई स्वीकृति दिइएको छ।
हाल पोखरा फाइनान्सको मुख्य कार्यालय पोखराको न्युरोडमा र समृद्धि फाइनान्सको हेटौंडामा रहेको छ। मर्जरपछि भने ‘पोखरा फाइनान्स लिमिटेड’ नामबाट कारोबार गर्ने र मुख्य कार्यालय काठमाडौंमा सार्ने योजना बनाइएको छ।
साधारणसभाबाट प्रस्ताव पारित भएसँगै दुवै संस्थाले अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा आवेदन दिने तयारी गरेका छन्। राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि दुवै संस्था औपचारिक रूपमा एकीकृत भई पोखरा फाइनान्स लिमिटेडका नामबाट कारोबार सुरु गर्नेछन्।
मर्जरपश्चात् कम्पनीको अध्यक्ष समृद्धि फाइनान्सको तर्फबाट रहनेछ भने सञ्चालक समितिमा समृद्धिबाट ४ जना र पोखराबाट ३ जना सदस्य रहने व्यवस्था गरिएको छ।


