काठमाडौँ: अन्तर्राष्ट्रिय बजारमै सुनले दिनप्रतिदिन नयाँ नयाँ रेकर्ड बनाउँदै गएको छ।
जसको प्रभाव नेपाली बजारमा पनि परेको छ। बिहीबार नेपाली बजारमा एकैदिन सुनको मूल्य २० हजार ५०० रुपैयाँले बढेर तीन लाख ३९ हजार ३०० रुपैयाँ कायम भएको छ। पछिल्लो एक सातामा मात्रै सुनको मूल्य तोलामा ५७ हजार ५०० रुपैयाँले वृद्धि भएको छ।
यसदिन चाँदीको मूल्य पनि ६३५ रुपैयाँ बढेर तोलामा ७ हजार ५०५ रुपैयाँ कायम भएको छ। सुनमा भएको आजको मूल्यवृद्धि इतिहासमै अहिलेसम्मको उच्च वृद्धि हो।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार एक औँस सुन पाँच हजार ५६० र र चाँदी १२० अमेरिकी डलरमा कारोबार भैरहेको छ।
दिनदिनै सुनको मूल्य बढ्नुको कारण अमेरिकाले सिर्जना गरेको अस्थिरता भएको विज्ञ बताउँछन्।
अमेरिकाले सिर्जना गरेको अस्थिरताका कारण सुनको भाउ आकासिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष तेजरत्न शाक्य बताउँछन्। भेनजुयला, ग्रिनल्यान्ड हुँदै इरानलाई अमेरिकाले दिएको धम्कीका कारण सनुको भाउ उकालो लागेको उनको भनाइ छ।
यस हिसाबले सुनको भाउ केही दिनभित्र तोलाको साढे तीन लाख रुपैयाँ नाघ्न सक्ने उनको बताउँछन्।


