काठमाडौं। चालू आर्थिक वर्षको अर्धवार्षिक अवधिमा मुलुकमा सञ्चालित वाणिज्य बैंकहरूको नाफा बढेको छ। सार्वजनिक विवरणअनुसार, बैंकहरूको समग्र खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.५१ प्रतिशत वृद्धि भएको छ।
२० वटै वाणिज्य बैंकले चालू आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमास (पुस मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म वाणिज्य बैंकहरूले कुल ३० अर्ब ५९ करोड रुपैयाँ खुदनाफा गरेका छन्। गत आर्थिक वर्षको यही अवधिमा बैंकहरूको कुल खुद नाफा २७ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो। गत वर्षको तुलनामा यो वर्ष बैंकहरुको नाफा तीन अर्ब १६ करोड रुपैयाँ बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ।
२० वाणिज्य बैंकमध्ये १२ बैंकको नाफा वृद्धि भएको छ भने सात बैंकको घटेको छ। लक्ष्मी सनराइज बैंक भने समीक्षा अवधिमा नोक्सानीमा गएको छ। नाफा बढ्ने बैंकहरूको संख्या बढी रहेकाले समग्र बैंकिङ क्षेत्रको नाफा सकारात्मक देखिएको हो।
आर्थिक गतिविधि विस्तारका साथै कर्जा असूलीमा केही सकरात्मक देखिएपछि बैंकहरुको नाफाको ग्राफ उकालो लागेको हो। पछिल्लो समय निक्षेप लागत (कस्ट अफ फन्ड) घटेका कारण पनि नाफा बढोत्तरीमा सघाउ पुगेको छ।
नबिल बैंकको सर्वाधिक नाफा
चालू आर्थिक वर्षको पहिलो छ महिनामा नबिल बैंकले सबैभन्दा बढी खुदनाफा आर्जन गरेको छ। बैंकले पुस मसान्तसम्म ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.७१ प्रतिशत बढी हो।
नाफा आर्जनको सूचीमा ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा रहेको छ। ग्लोबलले ३ अर्ब २५ करोड रुपैयाँ खुदनाफा कमाएको छ। जुन अघिल्लो वर्षको तुलनामा ६.५० प्रतिशत वृद्धि हो। त्यस्तै, कुमारी बैंकले २ अर्ब ७२ करोड रुपैयाँ, एभरेष्ट बैंकले २ अर्ब ११ करोड रुपैयाँ खुदनाफा आर्जन गरेका छन्।
कुमारी बैंकको नाफामा ऐतिहासिक वृद्धि
प्रतिशतका आधारमा हेर्दा कुमारी बैंकको नाफा सबैभन्दा धेरै वृद्धि भएको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्म कुमारी बैंकको नाफा ८८६.५० प्रतिशत बढेको छ। गत वर्ष उच्च इम्पेयरमेन्ट चार्जका कारण नाफा न्यून देखिएको भए पनि चालू वर्ष सो चार्ज उल्लेख्य रूपमा घटेपछि बैंकको नाफा तीव्र गतिमा बढेको हो।
गत आर्थिक वर्षको पुस मसान्तसम्म २७ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको कुमारी बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा नाफा बढाएर २ अर्ब ७२ करोड रुपैयाँ पुर्याएको छ।
अन्य बैंकहरूको अवस्था कस्तो?
समीक्षा अवधिमा नेपाल बैंकको नाफा १८३.०४ प्रतिशतले बढेको छ। सिद्धार्थ बैंकको नाफा १५०.२० प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको नाफा १३२.०३ प्रतिशत वृद्धि भएको छ।
सानिमा बैंकको नाफा १६.६६ प्रतिशत, नेपाल एसबिआई बैंकको १४.५५ प्रतिशत र प्राइम बैंकको नाफा ९.२७ प्रतिशतले बढेको छ।
नाफा घट्ने बैंकहरूमा एनएमबि बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एसिया बैंक, प्रभु बैंक, कृषि विकास बैंक र हिमालयन बैंक रहेका छन्। एनएमबि बैंकको नाफा १७.७१ प्रतिशत घटेर १ अर्ब ६४ करोड रुपैयाँमा सीमित भएको छ। स्टान्डर्ड चार्टर्ड बैंकको नाफा १६.२९ प्रतिशत र एनआईसी एसिया बैंकको १३.५३ प्रतिशत घटेको छ।
सिटिजन्स बैंकको नाफा सबैभन्दा धेरै ४५.७८ प्रतिशतले घटेको छ भने प्रभु बैंकको २४.०७ प्रतिशत र कृषि विकास बैंकको २६.१२ प्रतिशतले नाफा घटेको छ।
पुस मसान्तसम्म लक्ष्मी सनराइज बैंक भने २७ करोड ३६ लाख रुपैयाँ खुद नोक्सानीमा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब १६ करोड रुपैयाँ खुदनाफा कमाएको थियो।


